Main News

भेरी अस्पतालमा डेङ्गुबाट दुई जनाको मृत्यु

२०७९ भदौ २३ गते ७:१२
भेरी अस्पतालमा डेङ्गुबाट दुई जनाको मृत्यु

२३ भदौ २०७९ बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि भर्ना भएका दुई जना डेङ्गुका बिरामीको मृत्यु भएको छ ।

बढैयाताल गाउँपालिका–८ बर्दिया निवासी ८६ वर्षीय पुरुष र टीकापुर नगरपालिका–६ कैलाली निवासी १२ वर्षीया बालिकाको उपचारका क्रममा बुधबार मृत्यु भएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा बद्री चापागाईंले जानकारी दिनुभयो ।

उहाँका अनुसार, ८६ वर्षीय पुरुष भदौ १४ गते र १२ वर्षीया बालिका १९ गते भर्ना भएका थिए । ८६ वर्षीय वृद्धमा दमको कारण स्वासप्रश्वासमा समस्या देखिएकाले सघन उपचार कक्षमा राखेर उपचार भइरहेको थियो । दुवै जनाको उपचारकै क्रममा बुधबार दिउँसो मृत्यु भएको थियो । भेरी अस्पतालमा अहिले डेङ्गु सङ्क्रमित बिरामी उपचारका लागि आउनेक्रम बढिरहेका छन् ।

पहिलो पटक डेङ्गुको सङ्क्रमण सामान्य भए पनि दोस्रो पटक कडा हुने भएकाले सङ्क्रमण फैलिनसक्ने डा चापागाईंले बताउनुभयो ।

बाँकेमा डेङ्गु सङ्क्रमण फैलिन नदिन नेपालगञ्ज उपमहानगरपालिकाले लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरेको छ । समुदायस्तरमा सचेतना सँगसँगै लामखुट्टेको लार्भा नष्ट पार्ने अभियान भइरहेको उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *