Main News

नायक शाहलाई बाल यौन दुरुपयोगमा साढे दुई वर्ष कैद फैसला

२०७९ भदौ २१ गते २१:२९
नायक शाहलाई बाल यौन दुरुपयोगमा साढे दुई वर्ष कैद फैसला

२१ भदौ २०७९ काठमाडौं । जबर्जस्ती करणी अभियोगमा तनहुँ कारागारको थुनामा रहेका नायक पल शाहलाई नवलपुर अदालतले साढे दुई वर्ष कैद फैसला सुनाएको छ ।

नवलपुर जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको आजको इजलासले नायक शाहलाई बाल यौन दुरुपयोगमा दुई वर्ष छ महिना कैद फैसला सुनाएको हो ।

साथै रु २५ हजार जरिवानाको फैसलासमेत भएको नवलपुर अदालतका स्रेस्तेदार महेन्द्रराज पौडेलले राससलाई जानकारी दिनुभयो । जबर्जस्ती करणी मुद्दामा अभियोगपत्र दर्ता भए पनि न्यायाधीशले बाल यौन दुरुपयोगको कसुरमा शाहलाई कैदको फैसला सुनाएको अदाललते जनाएको छ । यसअघि भदौ १५ गते पेशी तोकिएमा स्थगित भई आज सुनुवाइ भएको हो ।

शाहविरुद्ध नवलपुर अदालतमा गत चैत ३ गते जबर्जस्ती करणी मुद्दा दर्ता भएको थियो । नायक शाह तनहुँ कारागारको थुनामा छन् । उनीविरुद्ध तनहुँ अदालतमा सुनुवाइ हुन बाँकी छ । भदौ १५ गते पेशी तोकिएकामा उक्त दिन न्यायाधीश बिदामा बसेपछि पेशी स्थगित भएको थियो ।

नाबालिकामाथि जबर्जस्ती करणी गरेको भन्दै शाहविरुद्ध गत फागुन ११ गते तनहुँ प्रहरीमा उजुरी परेको थियो । शाहले फागुन १५ गते प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए । शाहलाई चैत १० गते तनहुँ अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । अभिनेता शाहले आफू निर्दोष रहेको भनी रिहा गर्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन दिए पनि अदालतले उक्त निवेदन अस्वीकृत गरिदिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *