Main News

भारतीय सेनामा भर्ती हुन तम्तयार युवाहरु अग्निपथ योजनाले अन्योलमा (भिडियो रिपोर्टसहित)

२०७९ भदौ १९ गते २१:११
भारतीय सेनामा भर्ती हुन तम्तयार युवाहरु अग्निपथ योजनाले अन्योलमा (भिडियो रिपोर्टसहित)

१९ भदौ २०७९ बुटवल । भारतीय सेनामा भर्ती हुने तयारी गरिरहेका नेपाली युवा अग्निपथ योजना लागु हुने भएपछि अन्योलमा छन् । भर्ती नखुलेको दुई वर्ष बित्नै लाग्दा भारत सरकारले अचानक चार वर्षे अवधिको अग्निपथ योजना ल्याएपछि भारतीय गोर्खा सैनिकमा भर्ती हुन चाहने युवा अहिले असामन्जस्यमा परेका छन् ।

नाम सगुन खत्री । घर भैरहवा । उमेर २० वर्ष । बिहानको साढे चार बज्नै लाग्दा दौडका लागि तयार हुनुहुन्छ । बुटवलदेखि चरेङ्ग हुँदै फेरि बुटवलसम्म आइपुगेर साथीहरुसँगै बिम खिच्न ब्यस्त हुनुहुन्छ । यो सगुनको दैनिकी हो ।

भारतीय सेनामा जागिर खाने सोचका साथ सगुन र अन्य युवा यसरी नै दुई वर्षदेखि शारीरिक व्यायाम गरिरहेका छन्। सगुन भूतपूर्व भारतीय सैनिकसमेत रहेका आफ्ना बुवासँग बुटवलस्थित वर्ल्डलिंकन गोर्खा फिटनेश सेन्टरमा तालिम लिन पुग्नुहुन्छ । भारतीय सैनिकमा भर्ती हुने योजनामा दुई वर्षदेखि मेहनेत गरिरहेका सगुनलाई अग्निपथ योजनाले निराश बनाएको छ ।

पाल्पाका १९ वर्षीय आशिष गाहाले पनि भारतीय सेनामा भर्ती हुने आशामा तालिम लिइरहनुभएको छ । उहाँ ८ महिनादेखि शारीरिक अभ्यासमा हुनुहुन्छ । भारत सरकारको ४ वर्षे अग्निपथ योजनाले आशिषलाई पनि अन्योलमा पारेको छ ।

सगुन र आशिष मात्र हैन भारतीय सेनाको तयारी गरिरहेका कयौँ युवक अब के गर्ने के नगर्ने भन्नेमा अन्योलग्रस्त छन् ।

यो अन्योलका बीच अहिले रुपन्देहीमा सञ्चालित फिटनेश सेन्टरहरुमा भर्ती हुने चाहनामा शारीरिक अभ्यासका लागि आउने युवाको संख्यामा कमी आएको छ ।

४ वर्षे सेवा अवधि हुने गरी ल्याइएको अग्निपथ योजनाविरुद्ध भारतका विभिन्न सहरमा यसअघि हिंस्रक प्रदर्शन भएका थिए । असमन्जस्यमा परेका नेपाली युवाहरु पहिलेकै जसरी सैनिक भर्ती खुलाउन नेपाल सरकारले पहल गरिदिनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *