Main News

भारतीय सेनापतिको नेपाल भ्रमण: अग्निपथमा नेपालको चासो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ भदौ १९ गते ८:३७
भारतीय सेनापतिको नेपाल भ्रमण: अग्निपथमा नेपालको चासो (भिडियो रिपोर्टसहित)

१९ भदौ २०७९ काठमाडौं । नेपाली सेनाको मानार्थ महारथी सम्मान लिन भारतीय स्थल सेना प्रमुख मनोज पाण्डे नेपाल आउँदै हुनुहुन्छ ।

यसपटक नेपाली युवा भर्ती हुने गोर्खा रेजिमेन्टमा भारतको अग्निपथ योजनाबारे सरकारले भारतीय सेनाध्यक्ष पाण्डेसँग पनि चासो राख्ने तयारी गरेको छ ।

आइतबार काठमाडौं उत्रिने भारतीय सेनाध्यक्ष पाण्डेले प्रधानसेनापति प्रभुराम शर्मा सहित रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, परमाधिपति समेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुहुनेछ ।

मुख्य तीन एजेण्डामा छलफल गर्ने सरकारी तयारी–
–भारतले अघि सारेको अग्निपथ कार्यक्रम
–द्विपक्षीय सैन्य सम्बन्ध
–सैन्य सहयोग

भारतले अघि सारेको अग्निपथ कार्यक्रम
सन् १९४७ मा भएको नेपाल, बेलायत र भारतबीच त्रिपक्षीय सन्धिअनुसार भारतले गोर्खा रेजिमेन्टमा नेपाली युवालाई भर्ती गर्दै आएको छ । भारतले आफ्नो सैन्य रणनीति फेर्दै अग्निपथ कार्यक्रम लागु गर्‍यो । यो कार्यक्रम गोर्खा रेजिमेन्टमा पनि लागू गर्ने भारतको तयारी थियो ।

चार वर्षसम्मका लागि मात्र काम गर्न पाउने अग्निपथ कार्यक्रमका लागि भदौ ९ मा बुटवल र भदौ १६ मा धरानमा भर्ती गर्ने कार्यतालिकै बनाइएको थियो । तर, सरकारले तत्काललाई अग्निपथ कार्यक्रम नेपाली युवाका लागि लागू नगर्न भारतसँग आग्रह गरेपछि हाललाई भर्ना रोकिएको छ ।

यो विषयमा थप बुझ्न दिल्लीस्थित नेपाली राजदूतावासले भारत सरकारलाई पत्रचार गरिसकेको छ । अग्निपथमा सहभागी हुन भारतले तारन्तार दबाब दिइरहेको छ । तर, सरकारले सर्वपक्षीय छलफलपछि मात्र धारणा बनाउने बताउँदै आएको छ । यही सेरोफेरोमा भारतीय सेनाध्यक्षको पाँच दिने भ्रमणमा सरकारले थप जानकारी लिने सोचाइ बनाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

द्विपक्षीय सैन्य सम्बन्ध
नेपाल–भारतबीच परम्परागतरुपमै सैन्य सम्बन्ध रहेको छ । नेपाली सेनाका प्रमुखले भारतको र भारतीय स्थल सेना प्रमुखले नेपाली सेनाको मानार्थ महारथीको सम्मान लिने परम्परा रहेको छ ।

पहिलोपटक विक्रम संवत् २००७ मा भारतीय सेनाका फिल्ड मार्शल केएम करिअप्पालाई पहिलोपटक नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गरिएको थियो भने विक्रम संवत् २०२६ मा नेपाली सेनाका तत्कालीन प्रमुख सुरेन्द्रबहादुर शाहलाई भारतीय सेनाको मानार्थ महारथीको सम्मान दिइयो । त्यसपछि यो परम्पराको रुपमा स्थापित भयो ।

सैन्य सहयोग
पाण्डेको नेपाल भ्रमणका क्रममा भूराजनीतिमा आएको बदलाव र यसबाट दुबै मुलुकमा आउने चुनौतीका विषयमा पनि छलफल हुनसक्ने जानकारहरु बताउँछन् । आपराधिक गतिविधि नियन्त्रण, आपसी सहकार्य र नेपाली सेनाको क्षमता बढाउने सम्बन्धका विषयमा पनि छलफल हुनेछ ।

विगत १२ वर्षमा द्विपक्षीय सुरक्षा मामिलासम्बन्धी संवाद संयन्त्रमार्फत् भारतले नेपाललाई छुटमा झन्डै पौने १० अर्ब रुपैयाँ मूल्य बराबरको सैनिक सामग्री उपलब्ध गराएको छ । ती सामग्रीको ४० प्रतिशत मूल्य अर्थात् तीन अर्ब ९० करोड रुपैयाँ नेपालले तिरेको छ ।

पाण्डेको भ्रमणका क्रममा २२ करोड ३८ लाख ३८ हजार मूल्य बराबरको तोप मर्मतसम्भारका पार्टपुर्जा, घोडा, सिमुलेटर, विस्फोटक पदार्थ प्रतिरोध सवारी साधन र घुम्ती अस्पतालका लागि आवश्यक उपकरणको सहयोग उपलब्ध गराउने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *