Main News

निर्वाचनमा ५० प्रतिशत सिटमा टिकट पाउनु पर्ने महिला नेतृको माग (भिडियो रिपोर्टसहित)

२०७९ भदौ १८ गते १७:१६
निर्वाचनमा ५० प्रतिशत सिटमा टिकट पाउनु पर्ने महिला नेतृको माग (भिडियो रिपोर्टसहित)

१८ भदौ २०७९ काठमाडौं । पछिल्ला निर्वाचनमा नेतृत्वले प्रत्यक्षमा टिकट नदिएको भन्दै अहिले महिला नेतृहरु प्रत्यक्षमा ५० प्रतिशत टिकट पाउनु पर्ने माग गर्न थालेका छन् ।

आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकबाट मात्रै नभइ प्रत्यक्ष निर्वाचित भएर पनि संसदमा जान सक्छौँ भन्ने प्रमाणित गर्ने महिला नेतृतहरूको अठोट छ ।

तत्कालीन निर्वाचन क्षेत्र नम्बर ६६ डडेल्धुराबाट २०१५ साल फागुन ७ गते द्वारिकादेवी ठकुरानी सांसद निर्वाचित हुनुभयो । ठकुरानी नेपालको पहिलो प्रत्यक्ष निर्वाचित महिला सांसद हुनुहुन्थ्यो । त्यसपछि नेपालको संसदमा महिला सहभागिता बढ्दै गएको छ । २०४३ सालको निर्वाचनमा ३ जना महिला निर्वाचित भए । २०४८ सालमा ८० महिलाले उम्मेदवारी दिएकामा ७ जना विजयी भए ।

२०५० को उपनिर्वाचनमा थप एक महिला विजयी हुँदा कुल ८ जना पुगे । २०५१ सालको निर्वाचनमा ८६ जना महिलाले उमेदवारी दिएकामा ७ जना विजयी भएका थिए । यो जम्मा सांसद् संख्याको ३.४१ प्रतिशत् हो । त्यो आँकडा २०५६ साल आइपुग्दा वृद्धि भएर ५.७३ प्रतिशत पुगेको पाइन्छ ।

२०५६ मा १ सय ४३ मध्ये १२ जना महिला सदस्य निर्वाचित भएका थिए । २०६४ मा भएको संविधान सभाको निर्वाचनमा प्रत्यक्षतर्फ कुल २४० सिटमा ३ सय ६८ महिलाले उम्मेदवारी दिएका थिए जसमध्ये ३० जना विजयी भए। २०७० सालको संविधान सभाको निर्वाचनमा २४० सिटमा ६ सय ६७ महिलाले उम्मेदवारी दिंदा ११ जना विजयी थिए ।

२०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फको १६५ सिट १ सय २९ महिलाले उम्मेदवारी दिंदा ६ जना निर्वाचित भए । उपनिर्वाचनमा थप एक जना महिला विजयी हुँदा प्रत्यक्षतर्फ कुल ७ जना सांसद छन् ।

आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीमा प्रत्यक्षतर्फ ५० प्रतिशत महिलाले टिकट पाउनुपर्ने उनीहरूको माग छ ।

समानुपातिकको नाममा महिलालाई प्रतिस्पर्धाको ‘रेस’ बाहिर परिएको भन्दै महिला नेतृहरु आक्रोशित छन् । समानुपातिकमा पुरुषहरुले प्रत्यक्षमा लड्नबाट रोक्ने गरेको भन्दै अब प्रत्यक्ष निर्वाचित भएर नै नीति निर्माणमा पुग्ने महिलाहरुको अठोट छ ।

गत स्थानीय तह निर्वाचनमा गठबन्धनको नाउँमा महिला सहभागितामाथि कुठाराघात भएको महिला नेतृहरुको ठम्याइ छ । यही कारण स्थानीय तहको प्रमुख र उपप्रमुखमा महिलाको उपस्थिति न्यून भएको महिला नेतृहरु ठान्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *