राजनीति

निर्वाचनको तयारीः उम्मेदवार सिफारिस शुरु, को कहाँबाट भए ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ भदौ १८ गते १७:१०
निर्वाचनको तयारीः उम्मेदवार सिफारिस शुरु, को कहाँबाट भए ? (भिडियो रिपोर्टसहित)

१८ भदौ २०७९ काठमाडौं । निर्वाचन आयोग मंसिर ४ गतेका लागि तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीमा जुटेको छ । आयोगको कार्यतालिका अनुसार समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची असोज २ र ३ गते बुझाइसक्नुपर्छ ।

त्यस्तै प्रत्यक्षतर्फ असोज २३ देखि २६ गतेसम्ममा उम्मेदवार दर्ता गरिसक्नुपर्छ । त्यसका लागि दलहरुका तल्लो निकायले उम्मेदवार सिफारिस शुरु गरेका छन् ।

मंसिर ४ गते तोकिएको निर्वाचनका लागि दलका तल्लो तहले उम्मेदवारको नाम सिफारिस गर्न थालेका छन् । असोज ३ गतेसम्ममा समानुपातिकको सूची बुझाउनुपर्ने निर्वाचन आयोगको कार्यतालिका अनुसार दलका केन्द्रीय निकायले मातहतमा ताकेता पनि गरेका छन् । केही प्रतिनिधिसभा क्षेत्रमा सर्वसम्मत उम्मेदवार सिफारिस गरेर पठाउन सुरु भएको छ ।

कांग्रेसमा सर्वसम्मत सिफारिस उम्मेदवार
–शेरबहादुर देउवा– डडेल्धुरा
–आरजु राणा देउवा– कैलाली ५
–पूर्णबहादुर खड्का– सुर्खेत १
–विश्वप्रकाश शर्मा– झापा १
–प्रकाशशरण महत– काठमाडौं ५
–सुनिलबहादुर थापा– धनकुटा
–अफताव आलम– रौतहट २
–प्रमोद यादव– रुपन्देही ४
–भरतकुमार शाह– रुपन्देही ५
–सुनिल शर्मा– मोरङ ५

यीबाहेक प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समितिहरुले गृहमन्त्री बालकृष्ण खाणसहित कांग्रेसका ठूला नेताहरुको नाम सिफारिस गरिसकेका छन् । खाणको नाम रुपन्देही २ बाट सिफारिस भएको छ ।

महामन्त्री गगन थापा कास्की क्षेत्र नम्बर १ बाट सिफारिस हुनुभएको छ । तर, उहाँले काठमाडौं क्षेत्र नम्बर ४ बाटै उम्मेदवार बन्ने घोषणा गर्नुभएको छ ।

त्यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल पनि तनहुँ १ बाटै उम्मेदवार बन्न चाहनुहुन्छ । अर्को ठूलो दल एमालेका तल्लो कमिटीले पनि उम्मेदवार सिफारिस गर्न थालेका छन् । कांग्रेस नेता विमलेन्द्र निधीको नाम भने समानुपातिकमा सिफारिस भएको छ ।

एमालेमा सर्वसम्मत सिफारिस उम्मेदवार
–ईश्वर पोखरेल– काठमाडौं ५
–राजन भट्टराई – काठमाडौं ४
–कृष्ण राई– काठमाडौं ३
–राजेश शाक्य– काठमाडौं ८
–मणिराम फुँयाल– काठमाडौं २
– राजकुमार गुप्ता – पर्सा ३
–दामोदर भण्डारी – बैतडी

यी बाहेक पनि सिफारिसको क्रम जारी छ । अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ बाट सर्वसम्मत उम्मेदवार सिफारिस हुने निश्चित छ । ति बाहेक लमजुङबाट पृथ्वीसुब्बा गुरुङ लगायतका नेताहरुलाई पनि सर्वसम्मत उम्मेदवार बनाउने चर्चा छ ।

माओवादी केन्द्रका निर्वाचन क्षेत्रीय समितिले सिफारिस गर्न सुरु गरेको छ । क्षेत्रमा अस्थिर बनेको आरोप लागेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा क्षेत्र नम्बर १ बाट सिफारिस हुनुभएको छ । उहाँसँगै अरु दुई जनाको नाम सिफारिस गरिएको छ ।

अघिल्लो निर्वाचनमा प्रचण्ड चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित हुनुभएको थियो । त्यस्तै गोरखा क्षेत्र नम्बर २ बाटै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहितको नाम सिफारिस भएको छ । तर, माओवादी केन्द्रले बाबुराम भट्टराईसँग तालमेल गरेको छ । भट्टराईको क्षेत्र गोरखा क्षेत्र नम्बर २ नै हो ।

जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव मोरङ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार सिफारिस हुनुभएको छ । उहाँको अघिल्लो क्षेत्र सप्तरी क्षेत्र नम्बर २ हो । त्यसबाहेक यादवको नाम सिरहा क्षेत्र नम्बर १ र २ बाट पनि सिफारिस भएको छ । एकीकृत समाजवादीले पनि धमाधम उम्मेदवारको नाम सिफारिस गर्न थालेको छ ।

एकीकृत समाजवादी सर्वसम्मत सिफारिस गरेका उम्मेदवार
विरोध खतिवडा– मकवानपुर २
प्रकाश ज्वाला– सल्यान
राजन राई– खोटाङ

यसअघि काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित अध्यक्ष माधवकुमार नेपाल यो पटक रौतहट क्षेत्रनम्बर १ बाट उम्मेदवारी दिने तयारीमा हुनुहुन्छ । अन्य दलले पनि उम्मेदवार सिफारिस गर्न थालेका छन् । प्रतिनिधिसभा निर्वाचन क्षेत्रले सिफारिस गरेका उम्मेदवारको नाममा जिल्ला समिति र प्रदेश समितिको राय समावेश गरेर केन्द्रले नै उम्मेदवार टुंगो लगाउने दलहरुले निर्णय गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्