Main News

ज्ञवालीको ‘अर्को भोर’ले पायो पद्यश्री साहित्य पुरस्कार, ठकुरीलाई साधना सम्मान

सन्दुक रुइतलाई पद्यश्री गौरव पुरस्कार

हिमालय टिभी
२०७९ भदौ १६ गते २१:४३
ज्ञवालीको ‘अर्को भोर’ले पायो पद्यश्री साहित्य पुरस्कार, ठकुरीलाई साधना सम्मान

१६ भदौ २०७९ काठमाडौं । खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले यो वर्षको पद्यश्री साहित्य पुरस्कार कथाकार केशवराज ज्ञवालीको अर्को भोरलाई प्रदान गर्ने निर्णय गरेको छ ।

प्रतिष्ठानद्वारा गठिन निर्णायक समितिले विक्रम सम्बत २०७८ सालको पद्यश्री साहित्य पुरस्कार ज्ञवालीको कथा संग्रह अर्को भोरलाई प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिनुभएको छ।

प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा भनिएको छ–अर्को भोर कथासङ्ग्रहका कथाहरूको शैलीमा नवीनता छ । फरक कथानक र उत्कृष्ट संयोजनले हरेक कथालाई निकै सुन्दर बनाएका छन् । कथाहरूको भाषा सरल छ । आरोह, अवरोह र नाटकीयताको सम्यक सन्तुलन कायम राख्न अधिकांश कथा सफल छन् ।

प्राप्त १४४ पुस्तकबाट पहिलो चरणमा पन्ध्र ओटा र दोस्रो चरणमा पाँच ओटाको संक्षिप्त सूची यसअघि प्रकाशन भइसकेको छ ।

यस वर्ष पद्मश्री साहित्य पुरस्कार को निर्णायक समितिका संयोजक राम लोहनी र निर्णायक सदस्यहरु नयनराज पाण्डे र कुमारी लामा भएको रहनु भएको थियो ।

यसैगरी पद्मश्री साधना सम्मान तीसको दशकदेखि नेपाली आधुनिक कथाका क्षेत्रमा महङ्खवपूर्ण योगदान दिनुहुने कथाकार माया ठकुरीलाई प्रदान गरिने भएको छ। उहाँका कथाहरु समाजका सूक्ष्म संवेदना र मनवीय भावनाले ओतप्रोत छन् । उहाँका सात ओटा कथासङ्ग्रह, एउटा गीतिसङ्ग्रह र एउटा बाल कथासङ्ग्रह प्रकाशित छन् ।

यसै वर्षबाट सुरु गरिएको पद्मश्री गौरव पुरस्कार लाखौं मानिसलाई आँखाको ज्याति प्रदान गर्नुहुने अद्भुत नेत्र चिकित्सक डा. सन्दुक रुइतलाई प्रदान गरिने भएको छ । दुर्गम हिमाली गाउँमा जन्मिएर कठिन सङ्घर्ष गर्दै नेत्र चिकित्सकीय क्षेत्रको सगरमाथा बन्न सफल रुइत अँध्यारोमा रुमलिएका लाखौं जीवनलाई उज्यालो दिने मानवतावादी डाक्टर हुनुहुन्छ । सन्दूक रुइत नामक उहाँको जीवनी अलि ग्रिपरले अङ्ग्रेजीमा लेखका छन् भने नेपालीमा खगेन्द्र संग्रौलाले अनुवाद गरेका छन् ।

पद्मश्री साहित्य पुरस्कार, पद्मश्री साधना सम्मान र पद्मश्री गौरव पुरस्कार तीन ओटैको राशी रु. तीन लाख रहेको छ । तीन ओटै सम्मान तथा पुरस्कार प्रत्येक वर्षझैं कोजाग्रत पूर्णिमाका दिन अर्पण गरिन्छ ।

विक्रम सम्बत २०६३ देखि खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहराएको पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएको छ ।

त्यस्तै २०६७ सालदेखि साहित्य, कला, सङ्गीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्नुहुने विशिष्ट साधकलाई पद्मश्री साधना सम्मान अर्पण गर्दै आएको छ ।

यसै वर्षदेखि प्रतिष्ठानले समाजलाई गौरवपूर्ण योगदान दिनुहुने विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वलाई पद्मश्री गौरव पुरस्कार दिन शुरु गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *