Main News

अभियोगको जवाफ दिन पुगेका जबराले लगाए आरोपै-आरोप (भिडियो रिपोर्टसहित)

समितिमा राणाले के के भने ?

हिमालय टिभी
२०७९ भदौ १५ गते २१:४९
अभियोगको जवाफ दिन पुगेका जबराले लगाए आरोपै-आरोप (भिडियो रिपोर्टसहित)

१५ भदौ २०७९ काठमाडौं । जो जहिले पनि प्रश्नको जवाफ दिन कठघरामा उभिनुपर्छ । सधैं इजलासमा प्रश्न गर्ने निलम्बित प्रधानन्यायाधीशले आज महाभियोग सामना गर्दै संसदीय समितिमा जवाफ दिनुपर्‍यो ।

कानूनी राज र विधिको शासन भनेकै यही हो । एक्काइस बुँदे आरोपको जवाफ दिन जानुभएका राणाले आफ्नो बचाउभन्दा बढी अरुलाई आरोप लगाउनु भएको छ ।

बयानका लागि ११ बजे बोलाइएका राणा पुरानै ठाँट र रवाफमा १०ः५५ मै बैठकस्थल पुग्नुभएको थियो । महाभियोग सामना गर्न जाँदै गर्दा पनि राणाको अनुहार पूर्ववत् उज्यालै थियो ।

निर्धारित समयमै बैठक सुरु हुने छेकछन्द नदेखेपछि संसद सचिवालयका कर्मचारीले राणालाई बैठक बस्नेसँगै जोडिएको भवनमा लगेर राखे । ११ बजेको बैठकका लागि समितिका सदस्य बल्ल साढे ११ बजे हलभित्र छिरे । तर, बैठक १२ बजेसम्म पनि सुरु भएन ।

बयान दिने व्यक्ति आएर कुर्दा पनि समितिले चाहीँ बैठकको मापदण्ड नै बनाएको रैनछ । समितिका सदस्य र कर्मचारी मापदण्ड बनाउन थाले । तर, बैठकमा पत्रकारलाई राख्ने कि नराख्ने भन्नेमा विवाद भयो । एमालेबाट प्रतिनिधित्व गर्ने सदस्य राख्नुपर्ने र कांग्रेसका राख्न नहुने पक्षमा उभिए । सदस्यहरुको विवादैबीच पत्रकारलाई निकालियो । र, समितिका सदस्यले १२ः४० पछि राणाविरुद्ध प्रश्नको फायर खोल्न थाले ।

समितिमा राणाले के के भने ?
१– प्रतिनिधिसभाको एउटा अधिवेशनमा महाअभियोग प्रस्ताव दर्ता भएको तर उक्त अधिवेशनले टुंगो नलगाएका कारण सो प्रस्ताव नै अवैध भएको । संसदको सम्मानका लागि मात्र बयान दिन आएको ।

२– आफू पछाडिको न्यायाधीश दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाउने उद्देश्यमा महाअभियोग ल्याइएको । प्रधानन्यायाधीशलाई कमजोर बनाएर न्यायपालिका कहिल्यै बलियो नहुने ।

३– न्यायाधीश दीपक कार्कीलाई महत्वाकांक्षा जागेकाले आफूविरुद्ध लागेको । कार्कीलाई प्रधानन्यायाधीश बनाउने चर्चा सुरु भएपछि गुटबन्दी गरेर न्यायाधीश नै आन्दोलनमा उत्रिएको ।

४– २०७८ असार २८ मा शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउने र प्रतिनिधिसभाको दोस्रो विघटन रद्द गर्ने फैसलापछि महाभियोग लगाउनुपर्ने कारण के थियो भन्ने प्रश्न ।

५– प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दा लिएर सर्वोच्च पुगेका निवेदकले संवैधानिक इजलासमा रहेका अन्य न्यायाधीशलाई आश्वासन दिएको । परमादेशबाट फाइदा लिएको पक्षले किन महाभियोग लगायो भन्ने जिज्ञाषा ।

६– आफूबाहेक प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गर्ने अन्य न्यायाधीशलाई सरकारले पदक दिएको स्मरण । ‘गलत भए पाँचै जना गलत हुन्छ । नेतृत्व सबै कुरा हैन, दण्डित भए सबै दण्डित हुनुपर्दैन ?’ भन्ने राणाको प्रश्न ।

७– नेपाल बारको तत्कालीन अध्यक्ष चण्डेश्वर श्रेष्ठ र महासचिव लिलामणि पौडेलले उच्च अदालतको न्यायाधीश मागेको । सर्वोच्च अदालत बारका अध्यक्ष पूर्णमान शाक्यले मुद्दा मिलाइदिनुपर्ने कुरा राखेको ।

८– पूर्वप्रधानन्यायाधीशले संरक्षक हौं भन्दै निर्देशित गर्न खोजेको । कर्मचारीमा अनुकूलता र सरुवा–बढुवामा भाग खोज्ने गरेको । आफूले नदिएकै कारण आन्दोलनमा लागेको ।

बुधबार सोधिएका ४ वटा प्रश्नको जवाफ दिन राणाले करिब साढे ३ घण्टा खर्चिनुभयो । समितिले ४३ वटा प्रश्नको सूचि तयार पारेकाले यही रुपमा प्रश्नोत्तर हुँदा बयान लम्बिने छ । मुख्य सन्दर्भसँग सम्बन्धित सूचिमा रहेका अधिकांश प्रश्नको जवाफ आइसकेको भन्दै समितिका सदस्यले बयान बिहीबार नै सकिन सक्ने औंल्याएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *