Main News

बालुवाटारमा सञ्चारकर्मीलाई निषेध किन ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ भदौ १५ गते २१:४३
बालुवाटारमा सञ्चारकर्मीलाई निषेध किन ? (भिडियो रिपोर्टसहित)

१५ भदौ २०७९ काठमाडौं । बालुवाटार प्रधानमन्त्रीको सरकारी आवास हो । तर प्रधानमन्त्री निवासलाई सरकारी सम्पत्तिको रुपमा नभएर निजी सम्पत्तिका रुपमा प्रयोग गरिन्छ । पार्टीका नेता कार्यकर्ताका लागि चौबीसै घण्टा खुला रहने बालुवाटार सञ्चारकर्मी र आम नागरिकका लागि प्रवेशमै बन्देज जस्तै छ ।

कांग्रेसले स्वतन्त्र प्रेस लोकतन्त्रको एउटा आधार भएको बताउने गरेको छ । त्यही लोकतन्त्रको हिमायती मान्ने कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएकैबेला उहाँको सरकारी निवास सञ्चारमाध्यामलाई प्रवेश निषेध जस्तै भएको छ । खबर संकलन गर्न जाने सञ्चारकर्मीले दैनिकजसो वालुवाटारका सुरक्षाकर्मीको खप्की खानुपर्छ ।

केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला कांग्रेस सभापति देउवाले ‘कम्युनिष्ट’को सत्तामा बोल्न, लेख्न नपाइने र रुन पनि पाइँदैन भन्नसम्म भ्याउनुभयो । प्रधानमन्त्री देउवाज्यू, तपाईको पालामा पनि त सञ्चारकर्मीले निर्वाध सूचना संकलन गर्न पाएनन् नि ?

अघिल्लो ओली सरकारका पालामा कांग्रेस नेता गगन थापाले पनि खबर संकलनमा अंकुश लगाउन खोजेको भन्दै पटक–पटक आलोचना गर्नुहुन्थ्यो । तर, उहाँकै पार्टीको नेतृत्वमा रहेको सरकारले पनि वालुवाटारलाई पैतृक सम्पती नै ठान्यो ।

पार्टीका कार्यक्रम पनि वालुवाटारमा गर्ने भन्दै ओलीलाई प्रश्न गर्ने गगन थापाले आफ्नै पार्टी सभापतिले बोलाएको पार्टीका हरेक बैठकका लागि वालुवाटारलाई प्रयोग गर्न हिच्किचाउनुभएको छैन ।

बुधबार नै पनि कांग्रेस पदाधिकारी बैठक वालुवाटारमै बस्यो, त्यहाँ पनि सञ्चारकर्मी निषेधमा परे । किन कांग्रेस असहिष्णु बनेको रु सञ्चार तथा सूचना प्रविधि मन्त्री समेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले खबर संकलनका लागि वालुवाटारमा अवरोध छैन सफेद झुट बोल्नुभयो । यो हेरौं कार्कीको भनाइः

कार्कीले भनेजस्तो होइन, यहाँ सुरक्षाकर्मीलाई त ‘माथि’कै आदेश आएको छ, सञ्चारमाध्यामलाई वालुवाटारका हरेक बैठकमा सहज प्रवेश नदिनु ।

प्रतिपक्षमा रहँदा र सत्तामा पुग्दा राजनीतिक दलका नेताहरुको व्यवहार नै फरक हुन्छ । हिजो ओली सत्तामा हुनुहुन्थ्यो, उहाँको आलोचना हरेक कोणबाट कांग्रेस नेताहरुले गर्थे ।

आज कांग्रेस सत्तामा छ, एमालेले सरकार असहिष्णु बनेको आरोप लगाउन रत्ति पनि लाज मान्दैन । जो आउन हरेक सरकारले सञ्चारमाध्यामलाई तारो बनाउन छाड्दैनन् । अहिले देउवाले पनि त्यही प्रवृत्ति दोहोर्याउनुभएको छ । कम्तिमा आफैंले बोलेका कुरा सम्झिनुस्, प्रधानमन्त्रीज्यू १ कम्तिमा खबर संकलनमा पुगेका सञ्चारमाध्यामलाई सहज वातावरण बनाइदिनुस् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *