राजनीति

फेरि सरकार बनाउने एमाले उद्घोष ‘चरम महत्वकांक्षी’ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ भदौ १३ गते २०:५१
फेरि सरकार बनाउने एमाले उद्घोष ‘चरम महत्वकांक्षी’ (भिडियो रिपोर्टसहित)

१३ भदौ २०७९ काठमाडौं । अध्यक्ष केपी ओलीलाई तेस्रोपटक प्रधानमन्त्री बनाउने उद्घोषसहित नेकपा एमाले चुनावमा होमिएको छ । सोह्र प्रतिशत मत बृद्धि गरेर बहुमतको सरकार बनाउने उसको लक्ष्य छ ।

सत्ता गठबन्धनको एकलौटी तारो बनेको एमालेले लक्ष्य भेट्ला त ? विगतका निर्वाचनको मत विश्लेषण गर्दा एमालेका लागि यो लक्ष्य ‘चरम महत्वकांक्षी’ हुने निश्चितजस्तै देखिन्छ ।

भदौ १२ गते केन्द्रीय कमिटीको बैठक टुंग्याउँदा एमालेले १६ प्रतिशत मत बृद्धि गरेर अध्यक्ष केपी ओलीलाई तेस्रोपटक प्रधानमन्त्री बनाउने गरी चुनावमा होमिने निर्णय सार्वजनिक ग¥यो । कार्यकर्तामा आत्मविश्वास बढाउन पनि हुनसक्छ नेताहरु चाहिँ यथास्थितिमा असंभवजस्तो लाग्ने लक्ष्यलाई सहज भन्छन् ।

अघिल्ला निर्वाचनको परिणाम हेर्दा एकैपटक १६ प्रतिशत मत बढाउन संभव देखिन्न् । २०६४ को निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ २१ प्रतिशत मत बटुलेको एमालेले २०७० मा समानुपातिकतर्फ २ र प्रत्यक्षमा ६ प्रतिशत मत थपेको थियो ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा एमालेले प्रत्यक्षमा ३० लाख ८२, २ सय ७७ (३० प्रतिशत) र समानुपातिकतर्फ ३१ लाख ७३ हजार ४ सय ४९ (३१ प्रतिशत) मत पाएको थियो ।

यस्तै, बैशाखमा भएको स्थानीय तह निर्वाचनमा एमालेले जम्मा ३८ लाख ११ हजार ६ सय २ पायो । जुन ३३.०३ प्रतिशत हो ।

प्रत्यक्षतर्फ एमालेले २०६४ को तुलनामा २०७० मा ६ प्रतिशत र २०७० मा भन्दा २०७४ मा ३ प्रतिशत मत थपेको थियो ।

आकंक्षाअनुसार स्थानीय तहको मतमा १६ प्रतिशत थप्दा आउँदो चुनावमा एमालेले प्रत्यक्षतर्फ ४४ लाख २१ हजार ४ सय ५८ भोट जम्मा गर्नुपर्छ । यो भनेको स्थानीय तहमा ल्याएको भन्दा करिब ६ लाख बढी भोट हो । तर, यसपाली एकैपटक १६ प्रतिशत मत थपिन्छ त ? प्रतिशत महत्वकांक्षी भएपनि एमालेले गठबन्धनका बाबजुद सोचेभन्दा राम्रो प्रदर्शन गर्ने केहीको विश्वास छ ।

दाबी गरेअनुसार बहुमतको सरकार बनाउन एमालेले प्रत्यक्ष र समानुपातिक गरेर १३८ सिट जित्नुपर्छ । सत्तापक्षको गठबन्धन देशब्यापी भयो र स्थानीय स्तरमा विश्वासको संकट भएन भने एमाले आश्चर्यजनक रुपमा खुम्चिने छ ।

यो परिस्थितिमा प्रत्यक्षतर्फ उसले बढिमा बीस सिट सुरक्षित गर्ने अनुमान छ । गठबन्धन कसिलो भएन र वामपन्थीबीच तल्लोस्तरमा लेनदेनको वातावरण बन्यो भने एमालेले राम्रै सिट संख्या थप्न सक्छ । समानुपातिक मत पनि आश्चर्यजनक बढ्ने संभावना छैन । २–३ प्रतिशत बढ्दा पनि सांसद संख्या अघिल्लो ४० हाराहारी नै हुनसक्छ ।

समानुपातिकबाट ४० सांसद पक्का ग¥यो भने बहुमत पु¥याउन एमालेले प्रत्यक्षमा ९८ सिट जित्नुपर्छ । अघिल्लो पटक वाम गठबन्धन हुँदा त ८० सिट जितेको एमाललेले यसपटक एक्लै भिडेर १८ सिट थप्ने संभावना देखिन्न् ।

तर, सत्ता गठबन्धनमा नाटकीय मोड आएर चुनावमा वामपन्थी समिकरण बन्यो वा चुनावछि आत्मालोचना गर्दै एमाले र माओवादीले सहकार्य गरे भने १६ प्रतिशत मत बृद्धि नगरे पनि केपी ओली फेरि प्रधानमन्त्री बन्न सक्नुहुनेछ । किनकि, भनिन्छ नै, राजनीतिमा कोही स्थायी मित्र वा सत्रु हुन्नन ।

२०६४ मा एमालेको परिणाम
प्रत्यक्षः (२२,२९,०६४ मत) –३३ सिट (२१ प्रतिशत)
समानुपातिकः (२१,८३,३७० मत) – ७० सिट (२१ प्रतिशत)

२०७० मा एमालेको परिणाम
प्रत्यक्षः (२४,९२,०९० मत) –९१ सिट (२७.५५ प्रतिशत)
समानुपातिकः (२२,३९,७२६ मत) – ८४ सिट (२३.६६ प्रतिशत)

२०७४ मा एमालेको परिणाम
प्रत्यक्षः (३०,८२,२७७ मत) –८० सिट (३० प्रतिशत)
समानुपातिकः (३१,७३,४९४ मत) – ४१ सिट (३१ प्रतिशत)

२०७९ को स्थानीय तहमा एमालेको परिणाम
लोकप्रिय मतः (३८,११,६०२) – ३३.०३ प्रतिशत

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्