Main News

आमा पुस्ता भन्छन्ः ‘छोरी, बुहारीले वर्षभर रमाइलो गरेकैले तीजको महत्व बुझेनन्’

आमा पुस्ता भन्छन्ः ‘छोरी, बुहारीले वर्षभर रमाइलो गरेकैले तीजको महत्व बुझेनन्’

१३ भदौ २०७९ काठमाडौं ।
‘माइत जाने बेला भयो
कुनकुन सारी लाउने हो
बिदा दिनुस् सासूबज्यै कहिले आउने हो’

धादिङको ८७ वर्षीया बिन्दा पाठक आफ्ना पालाको यो गीत घरमा आइपुग्ने सबैलाई सुनाउनुहुन्छ । आफ्ना छोरी, बुहारी र नातिनीहरुले स्पिकरमा बजाएका गीत चित्त नबुझेर उहाँ आफ्नो समयको गीत गुनगुनाउनुहुन्छ । त्यतिबेला उहाँ तीन दिनसम्म तीज गीत गाउनुहुन्थ्यो । अहिले उहाँका सन्तानले त्यो भाका टिप्न जानेका छैनन् । आमा र दिदीहरुबाटै सुनेरै गीत सिक्नुभएको विन्दाले पहिलेका गीतले ग्रामीण परिवेशमा घरघरमा भइरहेको महिला हिंसाको झल्को दिन्थ्यो । परिवार र समाजले महिलामाथि गरेको विभेदको झल्को गीतमा हुन्थ्यो । एउटी छोरीले अर्का (श्रीमान्) को घरमा पाएको दुःख कष्टको अभिव्यक्ति पाइन्थ्यो ।

समाज बदलिएसँगै तीज मनाउने तरिका, भाका, नाच, खाइने खानकुरा, लगाउने लुगा सबैमा परिवर्तन आइसकेको छ । हामीले यसरी तीज मनाउने गरेका थियौँ भन्ने कुरा अहिलेका पुस्ताका लागि कथा जस्तै बनेको छ । धेरैले त अग्रजका अनुभव सुन्न चासो नै दिँदैनन् । चासो लिएर सुन्नेले पनि त्यसको मर्म नबुझेको पुरानो पुस्ताको गुनासो छ ।

‘स्वतन्त्रताको अधिकार’ कानुनले सुनिश्चित गर्नु पहिले नै तीज त्यसलाई कार्यान्वयन गर्ने अवसरका रुपमा रहेको थियो । वर्षभर श्रीमान्को घरमा भएको थिचोमिचो महिलाले गीतमार्फत व्यक्त गर्दथे । अहिले कतिपय महिला व्रत बस्दैनन् । कतिले निराहार व्रत बस्ने गरेका छन् भने कतिपयले आफ्नो इच्छा र स्वास्थ्यअनुसार पानी मात्र वा फलफूल वा रोटीलगायत खानेकुरा खाने गरेका छन् । पहिले पहिले तीजमा सबै महिलाले निराहार नै व्रत बस्ने गरेको घरघरका आमा र हजुरआमा बताउँछन् । अहिलेको पुस्ताले रमाइलोका लागि व्रत बस्ने गरेकामा त्यतिबेला निराहार व्रत बस्नु अनिवार्य जस्तै थियो । पाठकले भन्नुभयो, “दिनभर व्रत बसेर साँझ बुढाको गोडा धोएको पानी खाएपछि मात्रै पानी खाइन्थ्यो ।”

अचेल तीजभन्दा एक महिनाभन्दा पहिलेदेखि दर खाने र नाचगान सुरु हुन्छ । तीजमा लगाउने लुगा र खानेकुुराको तयारी निकै पहिलेदेखि हुने गरेको छ । त्यति हुँदाहुँदै पनि ७८ वर्षीया रामकुमारी शर्माले पहिलेको जस्तो अहिलेको तीजमा रौनक भेट्नु भएको छैन । अचेलका मान्छेले वर्षभर नै नाचगान र रमाइलो गर्न पाउने भएकाले तीज नै कुर्नुपर्ने अवस्था नभएको उहाँको भनाइ थियो ।

कुशेऔँसीदेखि चेलीबेटीले नै तीज सुरु भएको मान्ने गरेका छन्। पहिले सडक र गाडी नहुँदा हिँडेरै माइती पुग्नु पथ्र्याे । रामकुमारी पनि झण्डै सात घण्टा हिँडेर मकवानपुरको मन्थली पुग्नुहुन्थ्यो । औँसीका दिन माइती गएपछि एकैपटक पञ्चमी सकेर आउने गर्नुहुन्थ्यो । उहाँले भन्नुभयो, “बाल बच्चा जन्मेपछि धेरैसमयसम्म माइत जान नपाइएपछि घरमै बसेर तीज भनाइन्थ्यो पाँच, छ महिनासम्म जान नपाएको माइती जान पाउँदा साह्रै रमाइलो हुन्थ्यो ।”

तीजमा व्रतका रुपमा विशेष खानेकुरा खाने चलन पहिलेदेखि थियो । साँझमा सामान्य खाना खाएर राति १२ बजे पहिले खिर खाइने गरिएको काभ्रेकी सुन्तली केसीले बताउनुभयो । उतिबेला दरका रुपमा खिर खाने गरिन्थ्यो । भर्खर जीवनको सात दशक पार गर्नुभएकी उहाँ दर खाने दिनमा दिउँसोदेखि नै सेल, पुरी पकाएर खाने गरिएको बताउनुभयो । अहिलेजस्तो बजारको खानेकुरा नभए पनि चेलीबेटीका लागि माइतीले विशेष खानेकुराको जोहो गर्ने गरेको सुन्तलीले बताउनुभयो ।

कुनै फल फल्दा होस् वा मीठो अन्न बनाउँदा छोरी तीजमा आउँछे अनि खुवाउनुपर्छ भन्ने आमाबुबालाई लाग्थ्यो । उहाँले भन्नुभयो, “घरमा भनेजस्तो खान नपाउने र समयमा नपाउने भएकाले माइतीमा आमाले पकाएको जे पनि मीठो लाग्थ्यो ।” पहिले दर खाने दिनदेखि नै नाचगान गरिन्थ्यो । टाढा घर भएका चेलीबेटी औँसीकै दिनदेखि आउने हुँदा त्यो दिनदेखि नै रौनक सुरु हुने सुन्तलीले बताउनुभयो ।

टाढा भएर वा घरमा सासूससुरा र श्रीमान्ले नपठाउने चेली रोएरै घाँसदाउरा गर्ने गरेको उहाँले बताउनुभयो । तीज लागेपछि पाखामा घाँस काट्न जाँदा माइतीबाट आउने बाटो देखिन्थ्यो र सधैँ त्यही बाटो हेर्न मन लाग्थ्यो । “अहिले पो केटी स्कुटर चलाएर राति बिहान आफैँ हिँड्छन्, हाम्रो पालामा छोरी चेलीलाई कसैको जिम्मा नलगाइ हिँड्न दिइदैनथ्यो”, सुन्तलीले भन्नुभयो, “माइती लिन आए त जान पाइन्थ्यो भन्दै कुरेर बसिन्थ्यो ।” पहिले अहिले जस्तो फेरिफेरि लगाउन लुगा नहुने र वर्षांैसम्म एउटै सारी जतनले लगाउने गरिन्थ्यो ।

पहिले नाचगान त दर खाने दिनबाट सुरु हुन्थ्यो । व्रतको दिन दिनभर नाचगान गरेर रातैसम्म पनि गाउने र नाच्ने हुन्थ्यो । सबै जम्मा भएर नजिकैको मन्दिर गएर दर्शन गरिने उहाँले बताउनुभयो । निराहार व्रत बसे पनि तीजको रमाइलोले कति पनि भोक र थकाइको महसुस नहुने उहाँको भनाइ थियो ।

सानो समूहमै तीज मनाउँछ नयाँ पुस्ता
अचेल महिनौँअघिदेखि दर खाने र कोठामा वा छतमा सानो समूहमा जम्मा भएर नाच्ने चलन देशभित्र मात्रै नभएर विदेशमा बसोबास गर्ने नेपालीमा समेत पाइएको छ । तीज मनाउने मात्रैभन्दा फोटो खिच्ने, भिडियो बनाउने र सामाजिक सञ्जालमा हाल्ने बढी छन् । तीजभन्दा पहिलेदेखि नै नाचगान सुरु गरे पनि तीजकै बेलामा भने कम रमाइलो हुने गरेको पुरानो पुस्ताको अनुभव छ । एकै ठाउँमा ठूलो सङ्ख्यामा जम्मा हुनेभन्दा सानो सानो समूहमा स्पिकर बजाएर नाचेर तीज मनाउने गरेको पाइन्छ ।

कोभिड सङ्क्रमणका कारण घरघरमै तीज मनाउने चलन बढ्दै छ । अहिलेका मान्छे सबैसँग घुलमिल गर्नेभन्दा सानो समूहमा आफ्नै घरपरिवार र नजिकैका साथीभाइसँग रमाउने गरेको आमा पुस्ताको अनुभव छ । मोबाइल, ल्यापटप, टेलिभिजन, आइप्याडका कारण कोठाभित्रै रमाइरहेका पुस्ता तीजजस्तो चाडमा समेत बाहिर निस्केर ठूलो समूहमा घुलमिल गर्न चाहँँदैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.