Main News

नागरिकता विधेयकमाथि आज विधायन समितिमा छलफल हुँदै

हिमालय टिभी
२०७९ भदौ १३ गते ७:५१
नागरिकता विधेयकमाथि आज विधायन समितिमा छलफल हुँदै

१३ भदौ २०७९ काठमाडौं । नागरिकता संशोधन विधेयकमाथि आज विधायन व्यवस्थापन समितिमा छलफल हुँदैछ । मध्यान्ह १२ बजेका लागि समितिको बैठक बोलाइएको छ ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाण, गृहसचिव टेकनारायण पाण्डे, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटालाई आमन्त्रण गरिएको छ ।

हिजो बसेको राष्ट्रियसभा बैठकले विधेयक प्रक्रियागत रूपमा अघि बढाउने सर्वसम्मत निर्णय गरेको थियो । बैठकमा गृहमन्त्री खाणले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता विधेयकलाई पुनर्विचारका लागि विधायन समितिमा पठाउने प्रस्ताव गर्नु भएको थियो ।

योसँगै राष्ट्रपतिले सन्देहसहित फिर्ता पठाएको विधयेकमाथि समितिमा दफावार छलफल हुनेछ । राष्ट्रपतिबाट फिर्ता आएको विधेयक प्रतिनिधिसभाले भने सामान्य छलफलपछि हुबहु पारित गरेको थियो ।

सदनमै छलफल गर्नुपर्ने अडानमा सरकार लचिलो भएपछि विधेयकबारे समितिमा छलफल हुने भएको हो । कार्यव्यवस्था परामर्श समितिको बैठकमा सबै दल विधेयककबारे थप छलफल गर्न सहमत बनेका थिए ।

छलफलपछि समितिले प्रतिवेदनसहित पुनः राष्ट्रियसभामा पेश गर्ने विधेयक सदस्यहरुलाई वितरण गरिनेछ । अध्यक्षले अन्य आदेश दिएमा बाहेक समितिको प्रतिवेदन वितरण भएको चौबीस घण्टापछिको कुनै बैठकमा विधेयक अगाडि बढाउन सकिने व्यवस्था छ ।

समितिमा सत्तापक्षीय सांसदको बहुमत रहेकाले विधेयकमा राष्ट्रिपतिले उठाउनु भएका सन्दर्भ समेटिने संभावना भने कम छ । १६ गते बस्ने राष्टियसभा बैठकमा विधेयक पारित गर्ने गरी समितिले काम सक्ने तयारी गरेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *