राजनीति

एमालेबाट ओली नै प्रधानमन्त्रीकाे उम्मेदवार, तर आउँला एकल बहुमत ? (भिडियो रिपोर्टसहित)

२०७९ भदौ १२ गते २१:१०
एमालेबाट ओली नै प्रधानमन्त्रीकाे उम्मेदवार, तर आउँला एकल बहुमत ? (भिडियो रिपोर्टसहित)

१२ भदौ २०७९ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुनः प्रधानमन्त्री बन्ने इच्छा राख्नुभएको छ । उहाँकै इच्छालाई ध्यानमा राखेर एमालेले प्रधानमन्त्रीको उम्मेदवारकै रुपमा अघि सारिदियो । तर, पाँच दलीय सत्ता गठबन्धनसँग एक्लै चुनावी मैदानमा उत्रिने एमालेलाई बहुमत ल्याउन मुस्किल छ ।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको परिणामलाई आधार मानेर प्रारम्भिक अध्ययन अनुसार प्रत्यक्षतर्फ ३२ स्थानमा जित हात पार्ने एमालेको आफ्नै अनुमान छ । त्यसबाहेक पनि ४ वटा निर्वाचन क्षेत्रलाई एमालेले सम्भावित जितको सूचीमा राखेको छ ।

यसैलाई आधार मान्दा पनि एमालेका लागि बहुमत ल्याउन समानुपातिकतर्फ १ सय ६ सिट जित्नैपर्छ । एमालेको आन्तरिक मूल्यांकनभन्दा एमाले अध्यक्ष ओलीले केन्द्रीय कमिटीमा पेश गरेको राजनीतिक प्रतिवेदनमा १६ प्रतिशत मत मात्र कम हुने निश्कर्ष छ ।

तर, पाँच दलीय गठबन्धन एकमत भएर निर्वाचनमा होमिदा एमाले अध्यक्ष ओलीले सोचेजस्तो सहज हुने अवस्था छैन । नत समानुपातिकबाटै उसले १ सय सिट नघाउन सक्छ । जानकारसमेत गठबन्धन एकमत रहेको अवस्थामा एमालेलाइ बहुमत ल्याउन कठिन देख्छन्।

तर, एमाले नेताहरु जानकारसँग सहमत छैनन्, उनीहरु ओलीको ‘क्रेज’का कारण आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गर्छन् । ओलीसँग असहमति राख्ने नेताहरु पार्टी फुटाएर अलग भएपछि एमालेमा उहाँको एकल पकड छ । त्यसैले एमालेको केन्द्रीय कमिटी बैठकले नै प्रधानमन्त्रीको उम्मेदवारका रुपमा ओलीलाई अगाडि सार्यो । नेताहरु अध्यक्ष ओलीकै प्रतिवेदनलाई आधार मानेर १६ प्रतिशत मत बढाएर एकल बहुमत पुर्‍याउने दाबी गर्छन् ।

एमाले अध्यक्ष ओली २०७२ असोज २४ गते माओवादी केन्द्रको समर्थनमा पहिलोपटक प्रधानमन्त्री बन्नुभएको थियो । भारतको नाकाबन्दीको विरोध गरेका ओली दोस्रो पटक माओवादीकै समर्थनमा २०७४ फागुन ३ मा पनि प्रधानमन्त्री बन्नुभयो । त्यसपछि एमाले र माओवादीबीच पार्टी एकता पनि भयो ।

पार्टी जोगाउन नसक्नु, प्रतिनिधिसभा दुईपटक विघटन गर्नुले राजनीतिकरुपमा उहाँ असफल बन्नुभयो । त्यसैको उपज अहिलेको पाँच सत्ता गठबन्धन बन्यो । अहिले त्यही सत्ता गठबन्धन उहाँको तेस्रो पटक प्रधानमन्त्री हुने चाहनाको बाधक बन्ने एउटा कारण भएको छ । त्यसबाहेक पनि आम जनतामा रेलदेखि पानीजहाज, घर–घरमा खाना पकाउने ग्यासको पाइपलाई विच्छ्याउने जस्ता भाषणबाजी गरेर आलोचित बन्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्