राजनीति

एमाले अध्यक्ष ओलीको १९ पृष्ठको राजनीतिक प्रतिवेदनमा के छ ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ भदौ ११ गते ७:०२
एमाले अध्यक्ष ओलीको १९ पृष्ठको राजनीतिक प्रतिवेदनमा के छ ? (भिडियो रिपोर्टसहित)

११ भदौ २०७९ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सोह्र प्रतिशत मत बढाएर एकल बहुमतको सरकार बनाउने महत्वकांक्षी लक्ष्य समेटिएको राजनीतिक प्रतिवेदन केन्द्रीय कमिटी बैठकमा पेश गर्नुभएको छ । सरकार र सत्तारुढ गठबन्धनको आलोचनामा केन्द्रित प्रतिवेदनले पार्टीको चुनावी नीति, योजना र कार्यक्रमलाई जोड दिएको छ ।

१९ पृष्ठको प्रतिवेदनमा भूराजनीतिक बहाब र सिर्जित नयाँ चुनौती, गठबन्धन सरकारको समीक्षा, स्थानीय तह निर्वाचनको समीक्षा, मंसिरको चुनावी रणनीतिलगायतको विषय समेटिएको छ ।

एमाले नेतृत्वको सरकारले गरेको कामको प्रचार गर्ने, गठबन्धनको भयबाट मुक्त हुने र नयाँ पुस्तामा विशेष ध्यान दिनेजस्ता चुनाव लक्षित योजना पनि आफ्नो प्रतिवेदनमा समेट्नुभएको छ ।

पार्टीको सम्पूर्ण शक्ति चुनावमा लगाउनु पर्नेमा जोड दिइएको प्रतिवेदनलाई केन्द्रीय सदस्यहरुले सकारात्मक भनेका छन् ।

प्रतिवेदनका मुख्य बुँदा
– छिमेक सम्बन्धमा असन्तुलन आएको र बाह्य सम्बन्ध खलबल्लिएको ।
– सरकार राष्ट्र र जनताका आधारभूत हितमाथि आँच पुर्‍याउँदै मुलुकलाई संकटतिर धकेल्न उद्यत् ।
– भ्रष्टाचार, बेथिति र कुशासन उत्कर्षमा । सरकार बिचौलिया र निश्चित घरानालाई पोस्न सक्रिय ।
– जनतामा नैराश्य र हताशा बढ्न थालेको । चिर्न पार्टीले निर्णायक भूमिका निर्वाह गर्नुपर्ने ।
– राजनीतिक ध्रुवीकरण दिर्घकालका लागि सकारात्मक । स्वार्थमा टिकेको गठबन्धन जहिल्यै टुट्न सक्ने ।
– एमालेसँग तर्सिएर गठबन्धनमा दलको संख्या थपिदै । एक्लै पनि हुने आत्मविश्वास । चुनावी सहकार्य खुला ।
– बहुमतका लागि अपुग १६ प्रतिशत मत थप्न पार्टी प्रवेशमा जोड ।

घनश्याम भुसालसहितका केही नेताले वामगठबन्धन बनाउन पहल गर्नुपर्ने बताउँदै आएका छन् । तर, अध्यक्ष ओलीको प्रतिवेदन त्यसबारे स्पष्ट छैन ।

प्रतिवेदनमा राष्ट्रिय हितको रक्षा, लोकतन्त्रको सुदृढीकरणलगायत उद्देश्यमा सहमत सहयात्रीसँगको सहकार्य खुला राख्ने वाक्य भने समेटिएको छ । यस्ता सहयात्री को हुन् भन्ने नखुलाइएकाले एमालेले आवश्यकताअनुसार निर्वाचन क्षेत्रस्तरमा जोसँग पनि चुनावी लेनदेन गर्न सक्ने बाटो खुला राखेको देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्