राजनीति

भोजपुर : पूर्व र वर्तमान मुख्यमन्त्रीको भिडन्त, किरातीको अन्तिम चाहना (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ भदौ ११ गते ६:५७
भोजपुर : पूर्व र वर्तमान मुख्यमन्त्रीको भिडन्त,  किरातीको अन्तिम चाहना (भिडियो रिपोर्टसहित)

११ भदौ २०७९ भोजपुर । भोजपुरमा आसन्न निर्वाचनमा एमालेका नेता तथा पूर्वमुख्यमन्त्री शेरधन राई उम्मेदवार बन्ने सम्भावना बलियो बनेको छ ।

उहाँसँग चुनावी प्रतिस्पर्धाका लागि गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका सचिव तथा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई र माओवादी केन्द्रका नेता सुदन किरातीले इच्छा देखाउनुभएको छ ।

गत स्थानीय तहको निर्वाचनलाई हेर्ने हो भने एमाले भोजपुरमा पहिलो पार्टी बनेको छ । तर गठबन्धनबाट चुनावमा साझा उम्मेदवार बने एमालेका लागि सहज हुँदैन ।

१ मात्रै संघीय निर्वाचन क्षेत्र रहेको प्रदेश १ को पहाडी जिल्ला भोजपुरमा चुनावी चहल पहल सुरु भएको छ । प्रदेश १ का अन्य जिल्लामा भन्दा भोजपुरमा हुने निर्वाचनलाई विशेष रुपमा हेरिएको छ । प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राई र अहिलेका बहालवाला मुख्यमन्त्री राजेन्द्र राईको समेत निर्वाचन क्षेत्र रहेको जिल्ला हो, भोजपुर ।

शेरधन एमाले नेता हुनुहुन्छ भने राजेन्द्र पनि एमालेबाट प्रदेश सांसदमा निर्वाचित हुनुभएको थियो तर अहिले उहाँ नेकपा एकीकृत समाजवादी पार्टीमा हुनुहुन्छ । भोजपुरमा २०७४ को निर्वाचनबाट नेकपा माओवादी केन्द्रका सुदन किराती ३४ हजार ३ सय ९४ मत ल्याएर विजयी हुनुभएको थियो ।

उहाँका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका उमेश जंग रायमाझी २१ हजार ६ सय ९६ मत मात्रै ल्याउनुभएको थियो । माओवादी केन्द्रका किराती र काँग्रेसका रायमाझीविच १२ हजार ६ सय ९८ मतको मतान्तर रहेको थियो ।

२०४८, ०५१ र ०५६ सालमा भएका सबै संसदीय चुनाव एकलौटी जितेको एमालेले २०६४ को पहिलो संविधानसभामा भने क्षति व्यहोर्यो । माओवादीले उक्त चुनाव जित्यो । दोस्रो संविधानसभामा एमालेको पुनः उदय भयो भने संघीय संरचनामा मुलुक गएपछिको पहिलो चुनावमा वाम गठबन्धनबाट किराती संघमा र एमालेका दुबै प्रदेश सांसद विजयी भएका थिए ।

संघीय निर्वाचन २०७४ को मत परिणाम
सुदन किराती – नेकपा माओवादी केन्द्र– ३४ हजार ३ सय ९४ मत
उमेश जंग रायमाझी – नेपाली कांग्रेस– २१ हजार ६ सय ९६ मत
मतान्तर – १२ हजार ६ सय ९८ मत

९ स्थानीय तह रहेको भोजपुरमा गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा एमाले ३, कांग्रेस ३, माओवादी २ र १ स्वतन्त्र विजयी भएका छन् ।

एमालेले पौवादुङमा र हतुवागढी गाउँपालिकाको अध्यक्ष तथा षडानन्द नगरपालिकाको प्रमुख, कांग्रेसले अरुण, ट्याम्केमयुङ गाउँपालिकाको अध्यक्ष र भोजपुर नगरपालिकाको प्रमुख, माओवादी केन्द्रले आमचोक र रामप्रसाद राई गाउँपालिकाको अध्यक्ष तथा स्वतन्त्र उम्मेदवारले साल्पासिलिछो गाउँपालिकाको अध्यक्ष जितेका छन् ।

स्थानीय तह निर्वाचन २०७९ परिणाम वडागत
नेकपा एमाले – २७,६५६
नेपाली कांग्रेस – २३,५९९
नेकपा माओवादी केन्द्र – १४,७६१
नेकपा एकीकृत समाजवादी – १,९४५
जनता समाजवादी पार्टी – १,६४५

वडागत मतका आधारमा एमाले पहिलो पार्टी देखिए पनि अन्य दल एकै ठाउँमा हुँदा एमालेलाई सकस पर्नेछ । २०५६ मा देशकै कान्छो सांसद चुनिएका शेरधन राई एमालेबाट संघीय चुनाव लड्ने तयारीमा रहँदा माओवादीका युवा नेता सुदन किराँती र वर्तमान मुख्यमन्त्री राजेन्द्र राई पनि चुनावी तयारीमा देखिएका छन् । अझ रोचक त कांग्रेसले पनि मतका आधारमा एमालेपछि दोस्रो शक्ति भएकाले संघीय उम्मेदवार दाबी गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्