राजनीति

एमालेको रणनीति: वाम गठबन्धन नहुने, नवप्रवेशीलाई मौका (भिडियो रिपोर्टसहित)

२०७९ भदौ ७ गते २०:४२
एमालेको रणनीति: वाम गठबन्धन नहुने, नवप्रवेशीलाई मौका (भिडियो रिपोर्टसहित)

७ भदौ २०७९ काठमाडौं । नेकपा एमालेमा एक्लै निर्वाचनमा होमिनुपर्ने मत प्रकट भएपनि अन्य दलहरुसँगको तालमेलको सम्भावनालाई समेत खुल्ला राख्ने भएको छ ।

६ वटा प्रदेशका इन्चार्जहरुले पार्टी एक्लै प्रतिष्पर्धामा उत्रिएपनि बहुमत पाउने प्रतिवेदन पेश गरेका छन् । यसबाट अध्यक्ष केपी शर्मा ओली हौसिनुभएको छ । तर, तालमेल आवश्यक रहेको कतिपय नेताहरुको धारणा छ ।

सत्तारुढ पाँच दल तालमेल गर्दै आगामी निर्वाचनमा होमिने तयारीमा रहँदा प्रमुख प्रतिपक्षी नेकपा एमाले भने एक्लै निर्वाचनमा उत्रिने मनस्थितिमा छ । स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनसँग प्रतिष्पर्धामा उत्रिएको एमाले दोस्रो दल बन्न पुग्यो । तर, लोकप्रिय मत आफ्नै पक्षमा रहेको दाबी गरेको एमालेले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बहुमत ल्याउने विश्वास राखेको छ ।

मंगलबार बसेको स्थायी कमिटी बैठकमा गण्डकी बाहेक ६ प्रदेश इञ्चार्जहरुले पेश गरेको प्रतिवेदनमा एमाले मजबुद अवस्थामा रहेको उल्लेख छ । उनीहरुकै प्रतिवेदनलाई आधार मानेर अध्यक्ष केपी शर्मा ओली समेत एक्लै निर्वाचनमा होमिदा बहुमत ल्याउनेमा आशावादी हुनुहुन्छ ।

अहिलेकै अवस्थामा एक्लै निर्वाचनमा होमिने भने पनि तल्लो तहमा तालमेलको बाटो खुल्ला राख्ने मनस्थितिमा एमाले रहेको छ । सत्तारुढ गठबन्धनमा सिट बाँडफाँडको किचलो कायमै रहँदा अन्तिममा त्यसमध्येका दलहरु पनि आउने एमालेको आशा छ । त्यसैले पनि उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ विचार, नीति र सिद्धान्त मिल्ने पार्टीसँग गठबन्धन गर्ने सम्भावनालाई जिवितै राखेको बताउनुहुन्छ ।

नेम्वाङले भनेजस्तो विचार र सिद्धान्त मिल्ने पार्टीसँगको तालमेल त्यति सहज छैन । बरु, अध्यक्ष ओलीले विचार नै नमिल्ने राप्रपासँगको छलफललाई अघि बढाउनुभएको छ । त्यसबाहेक सत्ता गठबन्धनमा नअटे एमालेसँग फरक विचार राख्ने लोकतान्त्रिक समाजवादी पार्टी लगायतका दलहरु एमालेसँग जोडिन सक्छन् ।

निर्वाचन खपतका लागि अहिलेलाई एक्लै मैदानमा उत्रिने एमालेको दाबी रहेपनि गएको स्थानीय तह निर्वाचनको परिणामले उसलाई झस्काएको छ । त्यसैले पनि सत्तारुढ पाँच दलबाहेकका अन्य दलसँगको तालमेलका लागि एमाले नेताहरु निरन्तर छलफलमा छन् ।

एमाले एक्लै निर्वाचनमा जान्छ वा तालमेल गर्छ भन्ने स्पष्ट हुनका लागि आगामी केन्द्रीय कमिटीको बैठकको निर्णय पर्खिनुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *