राजनीति

रसुवा : ढकालको पुनरागमन कि आचार्यको निरन्तरता ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ भदौ ७ गते १५:०४
रसुवा : ढकालको पुनरागमन कि आचार्यको निरन्तरता ? (भिडियो रिपोर्टसहित)

७ भदौ २०७९ काठमाडौं । राजनीतिको दुई किनारमा भएपनि रसुवाका मोहन आचार्य र जनार्दन ढकाल अनन्य मित्र हुन् । दुबैको पेशा पनि एउटै प्रकृतिको छ । तर, अघिल्लो पटक झैं मंसिरको चुनावी प्रतिस्पर्धामा पनि यि दुई नै आमने–सामने हुने संभावना छ । आचार्य नेपाली कांग्रेस र ढकाल एमालेको तर्फबाट उम्मेदवार बन्ने तयारीमा छन् ।

राप्रपाका रामकृष्ण उपाध्याय (आचार्य) बाहेक २०५६ यता रसुवाबाट एकै नेताले लगातार चुनाव जितेका छैनन् । नेपाली कांग्रेसका मोहन आचार्य यसपटक दोस्रो जीत निकाल्ने प्रयासमा हुनेछन् ।

एमालेले २०७० का विजेता जनार्दन ढकाललाई नै आचार्यविरुद्ध मैदानमा उतार्ने संभावना छ । आचार्य र ढकाल २०७४ को संसदीय चुनावका पनि प्रतिस्पर्धी हुन् । अघिल्लो पटक ढकाल ४ हजार १ सय ४० मततले आचार्यभन्दा पछाडि परेका थिए ।

२०७४ को संसदीय निर्वाचनको मत परिणाम
मोहन आचार्य (नेपाली कांग्रेस) : १४ हजार ४ सय ५३ मत
जनार्दन ढकाल (नेकपा एमाले) : १० हजार २ सय ७८ मत
मतान्तरः ४ हजार १७५ मत

यसपटक आचार्यलाई सत्तारुढ गठबन्धनका माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादीसहितका दलले पनि भरथेग गर्नेछन् । चर्चाअनुसार ढकालले निर्णायक मत नभए पनि स्थानीयस्तरमा राप्रपाको साथ पाउन सक्छन् ।

वैशाखमा भएको स्थानीय तह निर्वाचनलाई आधार मान्दा पनि रसुवामा कांग्रेस बलियो छ । यहाँका ५ मध्ये कांग्रेसले ३ र एमालेले २ पालिका जितेका छन् । मतसंख्याका हिसावले एमाले पहिलो छ । तर, गठबन्धनका कांग्रेस र माओवादी केन्द्रको मत जोड्दा एमाले १ हजार मतले पछि हुन्छ ।

२०७९ को स्थानीय तह निर्वाचनमा पालिका प्रमुखले पाएको मत परिणाम
नेकपा एमालेः १२,२८७
नेपाली कांग्रेसः १०,०८६
नेकपा माओवादी केन्द्रः ३२२७

स्थानीय तहको मत रुझान कायमै रहेर गठबन्धनको मर्मअनुसार माओवादी केन्द्रले आफ्नो मत दिँदा कांग्रेस सुरक्षित हुन सक्छ । तर, पछिल्ला दिनमा कांग्रेस, माओवादी केन्द्र र जसपाका जिल्लास्तरीय नेताको पार्टी प्रवेशले एमालेलाई राहत दिन सक्छ । माओवादीका पूर्वनेता प्रेम तामाङसँग रुष्ट माओवादीकै केही जिल्ला तहका नेता एमाले प्रवेश गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्