आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने
६ भदौ २०७९ काठमाडौं । आज देशको गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम आंशिक बदली रहने भएको छ ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानमा र पूर्वतर्फ सरदर स्थानभन्दा दक्षिण दिशामा अवस्थित रहेको हुँदा देशभरका विभिन्न स्थानमा मौसम बदली रहने बताएको हो ।
महाशाखाका अनुसार आज बिहानैदेखि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य प्रदेशमा आंशिक बदली रहेको छ । आज दिउँसो गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य प्रदेशमा आंशिक बदली रहनेछ ।
गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले आज राति गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहने बताएको छ ।
गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र बाँकी भू–भागका एक–दुई स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । महाशाखाले देशभर मौसम बदली रहने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रतिक्रिया