Main News

छाला दान जीवन दान, यसरी गर्न सकिन्छ आफ्नो छाला दान (भिडियो रिपोर्टसहित)

२०७९ भदौ ६ गते ७:१०
छाला दान जीवन दान, यसरी गर्न सकिन्छ आफ्नो छाला दान (भिडियो रिपोर्टसहित)

६ भदौ २०७९ काठमाडौं । भनिन्छ, छाला दान गर्नु जीवन दान हो । जीवन दान मात्रै होइन यसलाई पुण्य कामको संज्ञा पनि दिइन्छ । छालादान जीवन दान भनिए पनि छाला दान गर्ने व्यक्तिको भने अभाव छ ।

आगलागीमा परी शरीरको २० प्रतिशत भाग जलेका गोरखाका ७२ वर्षीय रामबहादुर आले मगरलाई उपचारका लागि कीर्तिपुर अस्पतालको प्लाष्टिक सर्जरी वार्डमा लगियो । तर अस्पतालमा छाला अभाव हुँदा उहाँको जलेको भागको सर्जरी गर्न आफ्नै शरीरको अन्य भागबाट छाला निकाल्नुपर्ने अवस्था छ । अस्पतालले बिरामीकै शरीरबाट छाला निकाल्नुपर्ने बताएपछि आफन्त चिन्तित छन् ।

नेपालको एक मात्र छाला बैंक कीर्तिपुर अस्पतालमै छ । तर यो अस्पतालको छाला बैंक २ वर्षदेखि रित्तो छ । छाला दान गर्ने व्यक्तिको अभाव हुँदा अस्पतालले छाला उपलब्ध गराउन सकेको छैन ।

सरकारी तथ्यांकअनुसार नेपालमा वर्षेनी ६० हजार जलनका घटना हुने गरेका छन् । तीमध्ये २२ सय व्यक्तिको मृत्यु हुन्छ । कीर्तिपुर अस्पतालमा उपचारका लागि वर्षेनी ६ सय व्यक्ति पुग्ने गर्छन् । ती मध्ये २० प्रतिशत व्यक्तिलाई छालाको आवश्यकता पर्छ । तर छालाकै अभावमा कतिपयले अकालमा ज्यान गुमाइरहेका छन् ।

एक तिहाईभन्दा कम भाग जल्दा आफ्नै शरीरबाट छाला निकालेर जलेको भागमा प्रयोग गर्न सकिन्छ । शरीरको भाग गहिरो र एक तिहाईभन्दा बढी जलेको अवस्थामा छालाको आवश्यकता पर्छ ।

कीर्तिपुर अस्पतालमा २०१४ मा स्थापना भएको छाला बैंकमा अहिलेसम्म २९ जनाले मात्रै छाला दान गरेका छन् । छाला दानको विषयमा जनचेतनामूलक कार्यक्रम गरे पनि दान गर्ने व्यक्तिको संख्या नबढ्दा, छाला बैंक रित्तो छ ।

कसरी गर्न सकिन्छ त छाला दान ?
मृत्युअघि नै छाला दानको मञ्जुरीनामा भरेर छाला दान प्रमाण पत्र लिन सकिन्छ र छाला दान गर्न सकिन्छ । १६ वर्ष मुनिका बालबालिका, एचआईभी, हेपाटाइटिस बी,सी भएका, छालाको रोग भएका, संक्रमण भएर मृत्यु भएका र जन्डिस भएका व्यक्तिले भने छाला दान गर्न मिल्दैन । छाला दानका लागि छाला बैंक कीर्तिपुर अस्पतालमा सम्पर्क गर्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *