राजनीति

चुनावी चर्चा: एमालेका पदाधिकारी तहकै नेतालाई चुनाव जित्न मुस्किल (भिडियो रिपोर्टसहित)

कुन नेताको क्षेत्रमा अवस्था कस्तो ?

हिमालय टिभी
२०७९ भदौ ३ गते २०:५२
चुनावी चर्चा: एमालेका पदाधिकारी तहकै नेतालाई चुनाव जित्न मुस्किल (भिडियो रिपोर्टसहित)

३ भदौ २०७९ काठमाडौं । २०७४ सालमा वाम गठबन्धन गरेर आम निर्वाचनमा होमिएको एमालेले त्यसबेला प्रत्यक्षतर्फ कुल ८० स्थानमा जित हात पारेको थियो । त्यसमध्ये १२ सांसद एकीकृत समाजवादी पार्टी बनाउँदै एमालेबाट छुट्टिए ।

पार्टी फुट र सत्तारुढ पाँच दलले गठबन्धन गर्दा आगामी निर्वाचनमा एमालेले ३२ स्थानमा मात्र जित हात पार्ने प्रारम्भिक आंकलन गरेको छ । स्थानीय तहको मत परिणामलाई आधार मान्दा पदाधिकारी तहकै नेताहरुलाई पनि जित्न मुस्किल पर्ने अवस्था आएको छ ।

संसदको सबैभन्दा ठूलो दल एमालेका लागि मंसिर ४ गतेको निर्वाचन त्यति सहज देखिँदैन । एमालेले गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको परिणामलाई आधार मानेर प्रारम्भिक अध्ययन गर्दा ३२ स्थानमा जित हात पार्ने अनुमान गरेको छ । स्थानीय तहकै मत परिणामका आधारमा कुन क्षेत्रमा एमालेका पदाधिकारीहरुको कस्तो अवस्था छ त ?

झापा क्षेत्र नम्बर ५
एमाले अध्यक्ष केपी शर्मा ओलीको यो क्षेत्रका स्थानीय तहको परिणाम हेर्दा एमालेसँग ४१ हजार ६ सय १९ मत रहेको छ , त्यहाँ सत्तारुढ गठबन्धनको ३४ हजार ७ सय ९८ मत मात्र रहेको छ । यो क्षेत्रमा एमाले ६ हजार ८ सय २१ मतले अगाडि छ ।

काठमाडौं क्षेत्र नम्बर ५
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको यो क्षेत्रमा एमालेले स्थानीय तहमा १९ हजार ७ सय ३ मत पाउँदा गठबन्धनको १७ हजार ९ सय ६ मत रहेको छ । यहाँ एमाले १ हजार ७ सय ९७ मतले अघि छ ।

चितवन क्षेत्र नम्बर २
उपाध्यक्ष रामबहादुर थापाले उम्मेदवारी दिन चाहेको चितवन क्षेत्र नम्बर २ मा पनि स्थानीय तहको मत परिणाम अनुसार एमाले ११ मतले अगाडि रहेको छ । यहाँ एमालेको ३५ हजार ५ सय ४३ मत रहँदा गठबन्धनको ३५ हजार ५ सय ३२ मत रहेको छ । यी बाहेक अन्य एमाले पदाधिकारीहरु ‘रेड जोन’मा रहेका छन् ।

काठमाडौं क्षेत्र नम्बर ८
यो क्षेत्रमा एमालेभन्दा सत्ता गठबन्धन ६ हजार ९ सय ५० मतले अगाडि छ । यहाँ गठबन्धनको १६ हजार २ सय ३ मत रहँदा एमालेसँग ९ हजार २ सय ५३ मत रहेको छ । यदि यो क्षेत्रबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य मैदानमा उत्रिँदा सकस देखिन्छ ।

दाङ क्षेत्र नम्बर ३
यो क्षेत्रमा पनि एमालेसँग ३८ हजार ६ सय ५२ मत रहँदा गठबन्धनसँग ४५ हजार ९ सय ८९ मत रहेको छ । यो क्षेत्रमा गठबन्धन ७ हजार ३ सय ३१ मतले अघि छ । एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनावी प्रतिष्पर्धामा उत्रिए संकट हुने देखिन्छ ।

चितवन क्षेत्र नम्बर १
स्थानीय तहको परिणामलाई आधार मान्दा उपाध्यक्ष सुरेन्द्र पाण्डेका लागि पनि यो क्षेत्र त्यति सहज छैन । यो क्षेत्रमा एमालेभन्दा पाँच दलीय गठबन्धन ६ हजार ६ सय ९० मतले अगाडी छ । चितवन–१ मा एमालेले ३९,६०६ मत प्राप्त गर्दा गठबन्धनको मत ४६,२९६ छ ।

रुपन्देही क्षेत्र नम्बर २
स्थानीय तह निर्वाचन परिणामअनुसार रुपन्देही–२ मा एमालेको ३३ हजार १ सय ८७ मत छ भने सत्ता गठबन्धनको मत ३९ हजार ७ सय १२ आएको छ । यो निर्वाचन क्षेत्रमा एमालेभन्दा गठबन्धन ६ हजार ५ सय २५ मतले अगाडी छ । यहाँ पनि उपाध्यक्ष विष्णु पौडेलका लागि असहज अवस्था रहन्छ ।

इलाम क्षेत्र नम्बर २
एमाले उपाध्यक्ष सुवास नेम्वाङको यो क्षेत्रमा स्थानीय निर्वाचनको परिणाम अनुसार एमाले ३ हजार ९ सय ९९ मतले पछि छ । एमालेले ३२ हजार ५ सय २७ मत पाउँदा गठबन्धनको मत ३६ हजार ५ सय २६ छ ।

दाङ क्षेत्र नम्बर २
एमाले महासचिव शंकर पोखरेलका लागि दाङ क्षेत्र नम्बर २ बलियो क्षेत्र मानेपनि स्थानीय तहको परिणामले गठबन्धन नै अघि देखाएको छ । एमालेको ३३ हजार ५ सय ९४ मत छ भने गठबन्धनको ३६ हजार ७ सय २१ मत रहेको छ ।

एमालेका तीन उपमहासचिवहरु पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली र विष्णु रिमाल पनि ‘डेन्जर जोन’मा रहनुभएको छ । स्थानीय तहको मत परिणाम अनुसार उहाँहरुको क्षेत्रमा पनि गठबन्धन नै अगाडि रहेको छ ।

पाँच दलीय गठबन्धनको मत तान्न सक्ने अवस्था आए एमालेले केही स्थानमा जित हात पार्न सक्छ तर, गठबन्धन एकढिक्का बने एमालेका लागि अप्ठ्यारो अवस्था रहन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्