Main News

प्लाष्टिक प्रयोग प्रतिबन्धको घोषणा : किन हुँदैन कार्यान्वयन ? (भिडियो रिपोर्टसहित)

२०७९ भदौ ३ गते १८:०४
प्लाष्टिक प्रयोग प्रतिबन्धको घोषणा : किन हुँदैन कार्यान्वयन ? (भिडियो रिपोर्टसहित)

३ भदौ २०७९ काठमाडौं । प्लाष्टिकले मानव स्वास्थ र वातावरणमा असर गर्छ भन्ने जान्दाजान्दै पनि यसको प्रयोग घट्न सकेको छैन । तर निश्चित मापदण्ड पूरा गरेको प्लाष्टिक मात्र प्रयोग गर्ने र मापदण्ड पूरा नभएको प्लाष्टिक प्रयोग नगर्ने भन्दै नेपालमा पटकपटक प्रतिबन्ध लगाउने गरिएको छ ।

मानव जीवनको ठूलो हिस्सा ओगटेको प्लाष्टिक प्रयोग प्रतिबन्धको विषय कसरी सुरु हुन्छ र कार्यान्वयन नै नभई कसरी अन्त्य हुन्छ यो स्वयम प्रतिबन्ध लगाउने निकायलाई नै जानकारी छैन ।

२०७२ साल वैशाख १ गतेदेखि लागू हुने गरी काठमाडौं उपत्यकामा २० इन्च चौडाइ र ३५ इन्च लम्बाइभन्दा सानो र ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोलाको उत्पादन, भण्डारण, बिक्री वितरण र प्रयोगमा प्रतिबन्ध लगाइयो। प्रतिबन्ध निष्क्रिय हुने कारण बन्यो, सोही वर्ष वैशाख १२ गतेको भूकम्प ।

यस्तै २०७५ सालको फागुनमा वन तथा वातावरण मन्त्रालयले वातावरण संरक्षणका लागि भन्दै सार्वजनिक गरेको सय बुँदे प्राथमिकतामा प्लाष्टिकका झोला नियन्त्रण गर्ने कार्य मुख्य रुपमा समेटियो ।

आर्थिक वर्ष २०७८–७९ को बजेटमार्फत नै ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकका झोला उत्पादन, विक्री वितरण र प्रयोगमा प्रतिबन्ध लगाउने घोषणा नै भयो ।

२०७८ साउन २८ गते प्रतिबन्ध लागू गर्न सर्वोच्च अदालतले नेपाल सरकारको नाममा आदेश नै दियो । त्यसपछि औद्योगिक कच्चा पदार्थ वा अर्ध तयारी कच्चा पदार्थको रुपमा प्रयोग हुने प्लाष्टिकजन्य कच्चा पदार्थबाहेक ४० माइक्रोनभन्दा प्लाष्टिकको झोला वा अन्य प्लाष्टिक उत्पादन, आयात, विक्री वितरण र प्रयोगमा पूर्णरुपमा रोक लगाएको २०७८ असोज १८ गते को नेपाल राजपत्रमा सूचना प्रकाशनसमेत भयो ।

हाल सरकारले फेरि भदौ १ गतेदेखि लागू हुने गररी ४० माइक्रोनभन्दा कमका प्लाष्टिक प्रयोगमा रोक लगाएको छ ।

सरकारले गरेको प्लाष्टिक प्रयोग प्रतिबन्धको राष्ट्रिय घोषणादेखि पछिल्लो प्रतिबन्धको घोषणासम्म आइपुग्दा यसको कार्यान्वयन भने शून्य बराबर छ ।

कतिपयलाई कस्तो प्लाष्टिकमा प्रतिबन्ध लगाइएको हो भन्नेसमेत जानकारी छैन भने कतिपयले जानकारी पाएर पनि बेवास्ता गरिरहेको पाइन्छ ।

बजारबाट हाम्रो घरसम्म आइपुग्ने प्लाष्टिकजन्य सामग्री कस्ता हुन्, अनि कस्ताकस्ता सामग्रीमा प्रतिबन्ध लगाइएको हो त ?

–पानी पिउनका लागि प्रयोग गर्ने बोटल
–सेनिटाइजर, तेलका ग्यालिन, हर्लिक्सलगायतका
–पानी भण्डारण गरिने ट्याङ्की
–सिपीभिसी पाइप
–न्यून घनत्व भएको प्लाष्टिकलगायत

अहिले कुनै न कुनै रुपमा प्लाष्टिकको प्रयोगबिना मानिसको दैनिकी अपुरो हुन्छ । तर दैनिकजसो प्रयोग हुने प्लाष्टिक आफैमा समस्या होइन, यसको व्यवस्थापन चाहीँ सही तरिकाले हुनुपर्छ ।

वातावरण प्रदुषित हुनबाट रोक्न गरिएको प्रयासलाई सबै नागरिकले आफ्नो तहबाट सहयोग गर्न जरुरी छ । तर प्लाष्टिकलाई मानव जीवनबाट मुक्त बनाउने असम्भव यात्रा शुरु गर्नुपूर्व सरकार आफैले यसको पुन प्रयोग, पुन उत्पादनको नीति बनाउन आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *