राजनीति

गठबन्धनलाई सकसमा भागबण्डाकाे गलपासाे, सबै शीर्ष आफ्नै अडानमा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ भदौ १ गते २१:२१
गठबन्धनलाई सकसमा भागबण्डाकाे गलपासाे, सबै शीर्ष आफ्नै अडानमा (भिडियो रिपोर्टसहित)

१ भदौ २०७९ काठमाडौं । आगामी निर्वाचनमा तालमेल गरेर जाने सैद्धान्तिक सहमति जुटाएको पाँच दलीय सत्तारुढ गठबन्धन निर्वाचन क्षेत्रको भागबण्डा लगाउनै सकसमा छ । मुख्यतः कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका दोस्रो तथा तेस्रो तहका नेताहरुले आफ्ना निर्वाचन क्षेत्र नछाड्ने अडान राखेपछि गठबन्धनमा सहजै सहमतिको सम्भावना छैन ।

मंसिर ४ गतेका लागि तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल गरेर जाने निर्णयमा पुगेको पाँच दलीय सत्ता गठबन्धनमा निर्वाचन क्षेत्रको भागबण्डा मिलाउनै सकसमा छ । पटक–पटक छलफलमा जुटेको गठबन्धनले मापदण्ड टुंग्याउँदैछ । छलफलका लागि प्रस्ताव गरिएको कार्यदलको अघिल्लो बैठकमा सिट बाँडफाँटका चार आधारबारे छलफल भएको थियो । तर, सबै दल ती आधारमा छलफल गर्न तयार छैनन् । त्यसबेला २०७४ को प्रत्यक्ष र समानुपातिकतर्फको मतपरिणाम, २०७९ को स्थानीय तहको मत परिणाम र दलभित्रको संवेदनशिलतालाई ध्यानमा राखेर सिट बाँडफाँट गर्न सकिने विषय उठेको थियो । नेताहरूले त्यसमा सहमति भएको समेत भनेका थिए । तर, दलका दोस्रो तथा तेस्रो तहका नेताहरुले आफ्नो निर्वाचन क्षेत्र नछाड्ने अडान राख्दा सकस बढ्दै गएको छ ।

झापा क्षेत्र नम्बर १
यो क्षेत्र माओवादी केन्द्रले २०७४ सालमा आफूले जितेकाले पुनः पाउनुपर्ने अडान राख्दा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पनि आफ्नो क्षेत्र नछाड्ने बताउनुभएको छ । यहाँ २०७४ को प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रका राम कार्कीले जित्नुभएको थियो ।

पाँचथर
एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको पाँचथरमा कांग्रेस सहमहामन्त्री भिष्मराज आङ्देम्बेले उम्मेदवारी दिने इच्छा राख्दा माओवादी केन्द्रले इन्द्र आङबोलाई अघि सार्ने अडान राखेको छ ।

धनकुटा
एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको धनकुटामा पनि गठबन्धनभित्र रस्साकस्सी पर्ने देखिएको छ । यहाँ कांग्रेसका केन्द्रीय सदस्य सुनिलबहादुर थापाले नछाड्ने बताइरहँदा माओवादी केन्द्रका हेमराज भण्डारीले आफूनै उम्मेदवार बन्ने दाबी गर्नुभएको छ । अर्कोतिर जनता समाजवादी पार्टीका नेता रकम चेम्जोङले पनि आफू उम्मेदवारको दाबीबाट पछि नहट्ने अडान राख्नुभएको छ ।

गोरखा क्षेत्र नम्बर–२
माओवादी केन्द्रले बाबुराम भट्टराईलाई आफ्नो चुनाव चिन्हमा उम्मेदवारी बन्न दिने भएपछि माओवादीभित्रै पनि वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ रुष्ट बन्नुभएको छ । राष्ट्रियसभाबाट राजीनामा दिएर प्रतिनिधिसभामा उम्मेदवारी दिने तयारीमा रहेका श्रेष्ठलाई दाँतमा ढुंगा लागेजस्तो भएको छ ।

जाजरकोट
एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जाजरकोटमा पनि माओवादी केन्द्र र कांग्रेसका आ–आफ्नै अडान छन् । माओवादी केन्द्रले शक्तिबहादुर बस्नेतलाई अगाडि सार्दा कांग्रेसका राजिवविक्रम शाह नछाड्ने अडानमा हुनुहुन्छ ।

डोटी
डोटीमा पनि कांग्रेसबाट पूर्वमन्त्री वीरबहादुर बलायर प्रतिनिधिसभाकै लागि उम्मेदवारी दिने ‘मुड’मा हुनुहुन्छ तर, नेकपा एकीकृत समाजवादीका नेता प्रेम आले आफूले पाउनुपर्ने दाबी गर्दै हुनुहुन्छ ।

यीबाहेक पनि गठबन्धनभित्र प्रतिनिधिसभाको क्षेत्र नछाड्ने नेताहरुको अडानले भाग मिलाउनै कठिन देखिएको छ । तर, कांग्रेस सभापति शेरबहादुर देउवा डडेल्धुरा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन–३, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल रौतहट–२, जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव सप्तरी–२ बाट उम्मेदवारी दिने सहमति जुट्दैछ । तर प्रचण्डलाई चितवन कांग्रेस कार्यकर्ताहरुले चुनौती दिन छाडेका छैनन् । गठबन्धन दलका आकांक्षीहरुलाई नेतृत्वले दबाबमा राखे बागी उम्मेदवारी पर्ने सम्भावना पनि उत्तिकै छ । यदी बागी नै नउठे पनि अन्तरघातको तितो अनुभव बटुल्नुपर्ने बाध्यतामा गठबन्धन दलहरु पर्न सक्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्