राजनीति

सत्ता गठबन्धन कार्यदल बैठक औपचारिकता मात्र

हिमालय टिभी
२०७९ भदौ १ गते १९:१०
सत्ता गठबन्धन कार्यदल बैठक औपचारिकता मात्र

१ भदौ २०७९ काठमाडौं । सत्तारुढ गठबन्धनले बनाएको कार्यदलले सिट बाँडफाँटको मापदण्ड तयार पार्न सकेको छैन ।

प्रधानमन्त्री निवास वालुवाटारमा आज बसेको बैठक औपचारिकतामा मात्र सीमित भएको छ । आजको बैठकमा कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलालाई मापदण्डको प्रस्ताव ल्याउन जिम्मा दिइएको थियो । तर, सिटौलाले शीर्षनेताहरुसँग छलफल गरेर मात्र प्रस्ताव ल्याउने बताएपछि बैठक विनानिश्कर्ष टुंगिएको थियो ।

कार्यदलको बैठकमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादीका नेताहरुले सिट संख्यामा आ–आफ्नो दाबी राखेपछि ठोस निश्कर्षमा पुग्न नसकेको एक नेताले जानकारी दिए ।

बैठकपछि कार्यदलका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले पनि अहिलेसम्म भएको छलफलबारे नेताहरुलाई जानकारी गराउने र एउटा निर्णयमा पुग्ने बताउनुभयो । उहाँले आजको बैठकमा सामान्य छलफल मात्र भएको जानकारी दिनुभयो ।

एक–दुईदिनभित्र शीर्षनेताहरुसँग छलफल गरेर मोडालिटी तयार पार्ने कार्यदलको तयारी रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्