Main News

फोहर फाल्न नदिन आन्दोलन गरिरहेका बञ्चरेडाँडावासी आफैँ विभाजित (भिडियो रिपोर्टसहित)

२०७९ भदौ १ गते १८:५३
फोहर फाल्न नदिन आन्दोलन गरिरहेका बञ्चरेडाँडावासी आफैँ विभाजित (भिडियो रिपोर्टसहित)

१ भदौ २०७९ धादिङ । काठमाडौंको फोहर विर्सजन हुँदै आएको नुवाकोट र धादिङको सीमा क्षेत्र बञ्चरेडाँडा–कुँडुलेमा स्थानीय आन्दोलित छन् । फोहोर विर्सजनविरुद्ध विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका स्थानीयका बीचमै मतभेद देखिएको छ ।

राजधानी काठमाडौंको फोहर व्यवस्थापन १७ वर्षदेखि नुवाकोटको ककनी गाउँपालिकाको सिसडोलमा हुँदै आएकोमा अहिले त्यो भरिइसकेको छ । ३ वर्षका लागि भनेर फोहर व्यवस्थापन गरिएको सिसडोलमा १७ वर्षसम्म फोहर फालियो ।

अहिले २ किलोमिटर परको कुँडुले–बञ्चरेडाँडामा फोहर व्यवस्थापन हुँदै आएको छ । यहाँको धेरै भाग धादिङतर्फ पर्छ, जसलाई स्थानीयले कुँडुलेबगर भनेर चिन्छन् । ल्याण्डफिल्ड साइटको धेरै भाग मात्रै पर्ने नभएर पहुँच मार्गको धेरै भाग पनि आफ्नै क्षेत्रमा पर्ने भएकाले अहिले धुनीवेसी नगरपालिका स्थानीय आन्दोलित छन् ।

सबैभन्दा बढी वडा नम्बर एक डीगाउँका बासिन्दा आक्रोषित छन् । कारण ल्याण्डफिल्ड साइटको छेउमै यो वस्ती पर्छ र यहाँका बासिन्दा बढी प्रभावित छन् । तर यहाँका स्थानीयका बीचमा पनि मतभेद देखिन्छ । एउटा पक्ष यहाँको ल्याण्डफिल्ड साइट सधैका लागि बन्द गर्नुपर्ने अडानमा छ ।

अर्को पक्ष अति प्रभावित नागरिकलाई स्थानान्तरणको व्यवस्था मिलाएमा फोहर विर्सजन गर्न दिनुपर्छ भन्नेमा छ ।

केही दिनअघि राजधानीमा पत्रकार सम्मेलन गरेर एउटा पक्षले भदौ १ गतेदेखिको आन्दोलन स्थगित भएको जनाएको थियो भने अर्को पक्षले दुई दिनअघि नै आन्दोलन नै शुरु गरेको थियो । आन्दोलनरत पक्ष नै विभाजित खास प्रभावित स्थानीयवासिन्दा भने अलमलमा छन् ।

आन्दोलनरत पक्ष नै दुई–तीन समूहमा विभाजित भएपछि सरकारले गर्ने संवादका लागि समेत कठिनाई उत्पन्न हुने देखिन्छ । केही समयअघि सत्तारुढ दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका स्थानीय अगुवा नेताहरुले विज्ञप्ति जारी गरेर बन्चरेडाँडामा फोहोर ल्याउन सधैंका लागि बन्द गर्ने चेतावनी दिएको दिएका थिए ।

हस्ताक्षरमा सहभागी नभएको एमालेसमेत पछिल्लो समय दलहरुसँग मिलेर आन्दोलनकै मनस्थितिमा देखिन्छ । यसो हुँदा दलहरुले नेतृत्व गरेको पक्ष र अर्को खास प्रभावितको पक्ष पनि स्पस्टरुपमा दुई कित्तामा उभिने देखिएको छ । स्थानीयमै देखिएको यो विवादले फोहर व्यवस्थापनलाई थप असहज बनाउने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *