Main News

प्रधानमन्त्री देउवाले श्रीमती र सालाहरु अघि सारेर भ्रष्टाचार गरेको अध्यक्ष ओलीको आरोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ साउन ३१ गते १६:५२
प्रधानमन्त्री देउवाले श्रीमती र सालाहरु अघि सारेर भ्रष्टाचार गरेको अध्यक्ष ओलीको आरोप (भिडियो रिपोर्टसहित)

३१ साउन २०७९ काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीमती र सालाहरु अघि सारेर देशमा भ्रष्टाचार गरिरहेको आरोप लगाउनु भएको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका अध्यक्ष ओलीले प्रधानमन्त्री देउवाले आफन्तमार्फत् देशलाई दुःख दिएको र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छोरीलाई मेयर बनाउन मरिहत्ते गरेकै कारण केहीले राजनीतिलाई घृणा गरेको जिकीरसमेत गर्नुभयो ।

आज काठमाडौंमा आयोजित ‘युवा महिला र राजनीति’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले व्यापारीका प्रतिनिधिलाई ल्याएर करको दर हेरफेर गरेपछि राजनीतिमा घृणाभाव जागृत भएको तर्कसमेत गर्नुभयो ।

अध्यक्ष ओलीले सत्तारुढ दलका नेताहरुले राजनीति नगरेको उल्लेख गर्दै त्यसकाविरुद्ध लड्न पनि सबैलाई आह्वान गर्नुभयो । राजनीति देशका लागि, जनताका लागि, विश्व शान्ति र मानवजातिको हितका लागि हुनुपर्ने भन्दै उहाँले त्यसको पक्षमा आफूहरु दृढतापूर्वक उभिरहेको दावीसमेत गर्नुभयो ।

अध्यक्ष ओलीले राजनीतिमा एकथोपा पनि पसिना नबगाएकाहरुले यसलाई इन्जोय गर्ने माध्यामको रुपमा लिएको टिप्पणी समेत गर्नुभयो । स्वतन्त्रको पहिचान बनाएर राजनीतिमा सहभागी भइरहेकाहरुप्रति संकेत गर्दै उहाँले राजनीतिलाई उनीहरुले रमाइलो गर्ने माध्यमको रुपमा लिएपनि त्यस्तो नभएको बताउनु भयो ।

अध्यक्ष ओलीले राजनीतिमा सहभागी भएर असाधारण योगदान गरिरहेको भन्दै महिलाहरुको प्रशंसासमेत गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *