संसद बैठक आज बस्दै, यस्ता छन् कार्यसूची
३१ साउन २०७९ काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकमा पठाएको सन्देश जानकारी गराइने भएको छ ।
बैठकको सम्भावित कार्यसूचीमा नागरिकता विधेयक संदेशसहित फिर्ता भएको सम्बन्धी राष्ट्रपतिको कार्यालयको पत्रको जानकारी गराउने उल्लेख छ । फिर्ता विधेयकबारे जानकारी गराएपछि अर्को बैठकमा छलफल गर्ने गरिन्छ ।
साउन १५ गते संघीय संसदका दुवै सदनबाट पारित विधेयकलाई राष्ट्रपति भण्डारीले पुनर्विचारका लागि आइतबार साँझ प्रतिनिधि सभामै फिर्ता पठाइदिनुभएको थियो।
राष्ट्रपति कार्यालयको पत्र संघीय संसद सचिवालय पुगेसँगै यसबारे फेरि छलफल अघि बढ्ने भएको हो।
राष्ट्रपति भण्डारीले फिर्ता पठाएको ९ पृष्ठ लामो पत्रमा नागरिकता विधेयक प्रतिनिधि सभाको जानकारी, विमर्श र अध्ययनका लागि फिर्ता पठाएको उल्लेख छ । पत्रमा १५ वटा सन्देश छ ।
प्रतिक्रिया