राजनीति

बाबुराम किन फर्किँदैछन् रातो स्टिकर लागेको घरमा, के रेट्रोफिटिङ गर्न सक्लान् ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ साउन ३० गते २०:४१
बाबुराम किन फर्किँदैछन् रातो स्टिकर लागेको घरमा, के रेट्रोफिटिङ गर्न सक्लान् ? (भिडियो रिपोर्टसहित)

३० साउन २०७९ काठमाडौं । माओवादीको औचित्य सकिइसकेको बताएका बाबुराम भट्टराई झण्डै आठ वर्षपछि माओवादीमै फर्किने सुरसारमा देखिनुहुन्छ । अहिलेसम्मको सहमतिअनुसार पहिले गठबन्धन र त्यसपछि पार्टी एकीकरणको तयारी छ । तर माओवादीलाइ चर्किएको घर भनेका बाबुराम माओवादीकै सहारा किन खोज्दै हुनुहुन्छ ?

२०७२ असोज ३ गते संघीय गणतान्त्रिक नेपालको संविधान जारी भएपछि पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले अब माओवादीको औचित्य सकिएको भन्दै पार्टीको साधारण सदस्यता र सांसद पद छोड्नुभयो । त्यतिबेला उहाँले भन्नु भएको थियो– संविधान निर्माणसँगै पूँजीवादी क्रान्ति पनि सम्पन्न भएको छ र अब बाँकी कार्यभार पूरा गर्न माओवादीमा रहिरहनु पर्दैन र हुँदैन पनि ।

माओवादी छोडेर त्यसको झण्डै आठ महिनापछि २०७३ जेठ ३० गते भट्टराईले ठूलै तामझामसहित नयाँ शक्ति पार्टी जन्माउनुभयो । अखबारमा ज्याकेट एड र चोकचोकमा होर्डिङ बोर्डसहितको तामझाममा खुलेको नयाँ शक्ति पार्टीको घोषणासभा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा गरियो ।

पार्टी उद्घाटन समारोह यति भव्य थियो कि, अब नयाँ शक्ति पार्टी ठूलै शक्ति बन्ने देखेरै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले बाहेकका सबै दलका लागि धक्का लाग्ने उद्घोष गर्नुभयो । त्यतिबेला भट्टराईले छोडेको माओवादी पार्टीले अब अस्तित्व रक्षाका लागि गुहार माग्नुपर्ने अनुमान गरियो ।

तर स्थापनापछि पार्टीमा आकर्षण बढ्नुको सट्टा घट्दै गयो, न कार्यकर्ता थपिए, न स्थानीय तह निर्वाचनमा मतदाताले विश्वास गरे । त्यसैले २०७४ को संघ र प्रदेशसभा निर्वाचनमा भट्टराईले प्रतिनिधिसभाको एक सिट सुरक्षित गर्नका लागिसमेत नेपाली कांग्रेससँग गठबन्धन गर्नुपर्‍यो । तीव्ररुपमा शक्ति क्षीण हुँदै गएपछि भट्टराई पार्टी नै कतै लगेर जोगाउनुपर्ने अवस्थामा पुग्नुभयो र पार्टी गठनको पाँच वर्षपछि अर्थात् २०७६ वैशाख २३ गते तत्कालीन संघीय समाजवादी फोरमसँग एकीकरण गर्नुभयो ।

एकीकरणपछि पार्टीको नाम समाजवादी पार्टी राखियो । समाजवादी पार्टी विभाजन हुने गरी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेश ल्याएपछि रातारात राष्ट्रिय जनता पार्टी राजपासँग एकीकरण गरियो । एकीकरणपछि पार्टीको नाम जनता समाजवादी पार्टी राखियो ।

जसपा पनि लामो समय एक भएर बस्न सकेन, त्यसको एउटा धार छुट्टिएर लोसपा बन्यो । जसपामा रहँदा संघीय परिषद् अध्यक्ष रहेका भट्टराई गत असार २९ गते अर्को एउटा सानो समूह लिएर निस्किनुभयो । यो समूहको नाम नेपाल समाजवादी पार्टी राखिएको छ । र यही समूह अब भावी निर्वाचनका लागि माओवादीको चुनाव चिह्न बोक्ने र चुनावपछि माओवादीमै मिसिने निस्कर्षमा पुगेको छ ।

२०३९ सालमा पहिलो पटक कम्युनिष्ट पार्टीका सदस्य बनेका भट्टराईमा राजनीतिक अस्थिरता पुरानो परिचय हो । पहिलो पटक मोहनविक्रम सिंह नेतृत्वको चौममा सक्रिय भएका भट्टराई २०४८ सालमा नेकपा एकता केन्द्रमा मिसिनु भयो । २०५१ सालमा नेकपा माओवादीमा लाग्नुभएका उहाँले संविधान निर्माणसम्म माओवादी नेताका रुपमा खेलेको भूमिका स्मरणीय हुँदाहुँदै फेरि अस्थिरताको चक्रव्युहमा फस्न पुग्नुभएको थियो ।

पहिलो संविधानसभा असफल भएपछि दोस्रो संविधानसभाले संविधान निर्माण गर्दैगर्दा पनि महत्वपूर्ण भूमिकामा रहेका भट्टराई संविधान जारी हुँदा केही असहमति राख्दै संविधानलाई आधा भरिएको गिलासको पदावली दिनुभएको थियो । उहाँको यही पदावलीले मधेस केन्द्रित दलहरुसँग केही वर्ष भएको सहकार्य अन्ततः टुटेको देखिन्छ भने भट्टराई घुम्दैफिर्दै पेरिसडाँडा नै फर्किने निर्णयमा पुग्नु भएको छ ।

भट्टराई केही दिनअघिसम्म पनि समाजवादी पार्टीहरुबीच मोर्चा बनाउने अभियानमा देखिनुहुन्थ्यो । तर आइतबार अचानक उहाँ पुरानै अर्थात् त्यही रातो स्टिकर टाँसिएको घरमा पुग्न पुग्नुभएको छ । नयाँ घर निर्माणमा कमजोर देखिएका यी पुराना आर्किटेक्ट इन्जिनियर भट्टराई अब रातो स्टिकर लागेको घरको रेट्रोफिटिङ गर्न सफल हुनुहुन्छ वा यसलाई चुनावी अभ्यासका लागि फगत कागजको घरका रुपमा मात्र युज एण्ड थ्रो गर्नुहुन्छ त्यो भने हेर्न बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्