Main News

बञ्चरेडाँडा ल्यान्डफिल्ड प्रभावितद्वारा तत्काललाई आन्दोलन स्थगित

हिमालय टिभी
२०७९ साउन ३० गते १६:५१
बञ्चरेडाँडा ल्यान्डफिल्ड प्रभावितद्वारा तत्काललाई आन्दोलन स्थगित

३० साउन २०७९ काठमाडौं । काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनको ल्याण्डफिल्ड साइट बञ्चरे डाँडाका प्रभावितले तत्काललाई आन्दोलन स्थगित गरेका छन् ।

उनीहरुले सरकारले मागेको तीन महिना अवधि हेरेर भावी कदम चाल्ने प्रष्ट पारेका छन् । बञ्चरेडाँडा फोहर ल्याडफिल्ड साइट प्रभावित क्षेत्र व्यवस्थापन सरोकार समितिले सरकारले प्रभावित क्षेत्रमा परेको असर र समस्या समाधानको उपायबारे प्रतिवेदन तयार पार्न ३ महिना समय मागेपछि आन्दोलन हाललाई रोकेको जानकारी दिएको हो ।

गत साउन २९ गते शहरी विकास मन्त्रालयले प्राविधिक परामर्श टोली गठन गर्ने र उक्त टोलीले तयार पारेको प्रतिवेदनअनुसार काम अघि बढाउने निर्णय गरेसँगै आन्दोलनका कार्यक्रम हाललाई स्थगित् गरिएको समितिका संयोजक श्रीराम ढुंगानाले जानकारी दिनुभयो । सरकारले गरेको निर्णयमा प्राविधिक टोलीले ३ महिनाभित्र तथ्यगत रिपोर्ट तयार गर्ने र सो रिपोर्टको आधारमा काम अघि बढाइने उल्लेख गरिएको छ ।

उनले भने,‘सरकार र शहरी विकास मन्त्रालयले ३ महिनाभित्र प्राविधिक प्रतिवेदन तयार पार्ने र त्यसलाई विधानको रुपमा प्रयोग गरिने भनेसँगै आन्दोलन अहिलेलाई स्थगित गर्न तयार भयौ ।’ राष्ट्रप्रतिको दायित्वबोध गर्दै आन्दोलनलाई स्थगित नभई यसको रुपमात्रै परिवर्तन गरेको उनको स्पष्टोक्ति थियो ।

उनले आगामी तीन महिनासम्म सम्पुर्ण सिस्डोल फोहोर व्यवस्थापन संघर्ष समितिहरुले आफ्नो आन्दोलन रोकेर प्राविधिक टोलीलाई सहयोग गर्ने बताए । ढुंगानाले काठमाडौं महानगरको काम र भूमिकालाई हेरेर आफुहरुको गतिविधि बढाइने स्पष्ट पारे । उनले भने,‘त्यहाँका उद्योग, बस्तीलाई स्थानान्तरण गर्ने स्थायी समाधानका विकल्प नभएसम्म, महानगरपालिकाको व्यवस्थापनको रणनीति हेरेर फेरी गतिविधिहरुलाई अघि बढाउनेछौं ।’

उनले राज्यको प्रतिनिधित्व गर्ने काठमाडौं महानगरले धेरै वर्षदेखि स्थानीयहरुलाई अवान्चित रुपमा समस्या खडा गरेर चुप बसेको भन्दै उक्त कार्य फेरी नदोहोर्याउन समेत चेतावनी दिए ।

ढुंगानाले विगत १५ वर्षदेखि नेपाल सरकार, मन्त्रिपरिषद र सम्बन्धित मन्त्रालयहरुले पुनर्लेखन गरेर त्यहाँको वातावरण, पशपन्छी, जग्गा प्राप्ती, गुठी, कृषी उद्योग, छाडा जंगली जनावरले गरेका असरको बारेमा अध्ययन गरेपनि समाधानबारे चासो नदिएको गुनासो पोखे । र, अब पनि समस्या समाधानबारे नसोचे सदाका लागि फोहोर व्यवस्थापनमा रोक लगाउन बाध्य हुने उनको चेतावनी छ ।

प्राविधिक टोलीले तथ्यगत र स्थानीयको भावनालाई बुझेर रिपोर्ट बनाउनेमा आफु विश्वस्त रहेको पनि उनले सुनाए ।

त्यस्तै, स्थानीय मनोज तामाङले फोहोरको गाडी गुड्ने सडकमा फोहोर धेरै चुहिएको भन्दै उक्त सडकमा तत्काल पानी हालेर सफा गर्न सरकारसमक्ष आग्रह गरे । फाहोरमैला संकलन गरेर सरकारले गुठीको जग्गा नियन्त्रणमा लिएको उनको भनाई थियो । गुठीको जग्गा स्थानीयलाई उपभोग गर्न मिल्नेगरि व्यवस्थित गर्नुपर्ने उनको धारणा छ ।

यसैगरी, स्थानीय युवा हरि लामाले अंग्रेजी भाषामा लेखिएको सरकारको निर्णयको विरोध गरे । सरकारले सर्वसाधारणले नबुझ्ने भाषामा जनतालाई भ्रममा पार्न खोजेको टिप्पणी गर्दै उनले सबै जनताले बुझ्ने सरल भाषामा सहमति तथा सम्झौताका बुँदाहरु बाहिर ल्याउनुपर्ने माग गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *