राजनीति

पर्यटक उम्मेदवार, को कहाँबाट भिड्छन् चुनावमा ?(भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ साउन २९ गते २१:२१
पर्यटक उम्मेदवार, को कहाँबाट भिड्छन् चुनावमा ?(भिडियो रिपोर्टसहित)

२९ साउन २०७९ काठमाडौं । सामान्यतया कुनै पनि नेताले आफ्नो जन्मस्थानबाटै चुनाव लड्ने बुझ्दछौं । आफ्नो जन्मस्थान प्रतिनिधित्व गरेर संसद प्रवेश गरेमा त्यसले आफ्ना मतदाताको समस्याको जड बुझेर सामाधानका लागि कानून निर्माणमा पहल गर्छ । तर, नेपालमा आफ्नो जन्मस्थानभन्दा अन्यत्र गएर लड्ने प्रचलन छ जसलाई टुरिस्ट अर्थात भ्रमणकारी उम्मेद्‌वार पनि भनिन्छ । यस्तोमा शीर्ष नेता नै अघि छन् ।

प्रचण्ड
प्रचण्ड चुनावी क्षेत्र फेरिरहने नेताका रुपमा स्थापित हुनुहुन्छ । २०६४ देखियता भएका तीन वटा निर्वाचनमा प्रचण्डले चार निर्वाचन क्षेत्रबाट चुनाव लड्नुभएको छ ।

२०६४ मा भएको संविधानसभा निर्वाचनमा काठमाडौं–१० र रोल्पा–२ बाट चुनावमा भिडेका प्रचण्ड दुबै ठाउँमा विजयी हुनुभयो ।
तर, दोस्रो संविधानसभा निर्वाचन–२०७० मा भने प्रचण्डले रोल्पा–२ छाडेर काठमाडौं १० र सिरहा ५ बाट लड्नुभयो । त्यसबेला काठमाडौं १० मा दोस्रो पनि हुन नसक्दा सिरहामा पनि विवादास्पद जित हात पार्नुभयो । २०७४ मा भएको निर्वाचनमा प्रचण्डले काठमाडौं–१० र सिरहा–५ दुवै क्षेत्र छाड्नुभयो । जीवनको तेस्रो निर्वाचन उहाँले चितवन–३ बाट चुनाव लड्नुभयो । वाम गठबन्धन भएका कारण त्यहाँ प्रचण्डले सहज जित हात पार्नुभयो । यद्यपि उहाँको जन्मथलो कास्की क्षेत्र नम्बर एक हो ।

केपी ओली
तेह्रथुममा जन्मिएका केपी ओलीको खास बसोबास र गृहजिल्ला झापा हो । अहिले भक्तपुरको बालकोटमा बस्दै आएका ओलीको मतदाता नामावली भक्तपुर क्षेत्र नम्बर २ मा छ । तर, २०७४ को निर्वाचनमा ओलीले राप्रपा र माओवादीको साथ लिएर झापा ५ मा विजय हासिल गर्नुभयो । त्यसअघि २०७० को संविधानसभा निर्वाचनमा पनि ओली सोही क्षेत्रबाट विजयी हुनुभएको थियो भने पहिलो संविधानसभा निर्वाचनमा पराजित हुनु भएको थियो ।

बाबुराम भट्टराई
बाबुराम भट्टाराईको जन्म गोरखा जिल्लाअन्तर्गत साविकको खोप्लाङ गाविस हालको पालुङटार नगरपालिकामा भएको हो । जुन गोरखा क्षेत्र नम्बर २ मा पर्छ । बाबुरामले पहिलो संविधानसभा निर्वाचन गोरखा–२ बाट जित्नु भएको थियो भने २०७० को संविधानसभा निर्वाचन गोरखा १ बाट लड्नुभयो । फेरि २०७४ प्रतिनिधिसभा निर्वाचन भने उहाँले गोरखा २ बाट लडेर नारायणकाजी श्रेष्ठलाई हराउनुभयो ।

नारायणकाजी श्रेष्ठ
नारायणकाजी श्रेष्ठले पनि फरक फरक स्थानबाट निर्वाचन लड्नुभएको छ । ०६४ को पहिलो संविधानसभा निर्वाचनमा समानुपातिक कोटाबाट संसद भवन प्रवेश गरेका नारायणकाजीले ७० को निर्वाचन भने मकवानपुर क्षेत्र नम्बर ४ बाट लड्नुभयो । तर, पराजित हुनुभयो । ७४ को निर्वाचनमा उहाँको भिडन्त बाबुराम भट्टराईसँग भयो । त्यसबेला पनि उहाँ पराजित हुनुभयो ।

माधवकुमार नेपाल
माधव नेपालको जन्मथलो रौतहट हो । २०६४ को संविधानसभा निर्वाचनमा माधव कुमार नेपाल रौतहट १ र काठमाडौं २ बाट चुनावमा उत्रिनुभयो । त्यो निर्वाचनमा दुवै स्थानमा हारेका नेपाल ७० को निर्वाचनमा भने दुबै ठाउँमा विजयी हुनुभयो । एउटा मात्र निर्वाचन क्षेत्रमा उम्मेदवारी दिन पाउने व्यवस्था संविधानले गरेपछि उहाँले २०७४ मा रौतहट छोडेर काठमाडौं २ रोज्नुभयो ।

वामदेव गौतम
बामदेव गौतमको जन्मथलो प्युठान भए पनि राजनीतिक थलो भने बर्दिया रहँदै आएको छ । तर, बर्दियामा उहाँको न घर छ न जग्गा । उहाँले २०४८ देखि नै बर्दियाबाटै चुनाव लड्नुभयो । तर ०६४ को पहिलो संविधानसभा निर्वाचनमा उहाँ पराजित हुनुभयो । ७० को निर्वाचनमा बर्दिया १ र प्युठानबाट विजयी भएका बामदेव २०७४ को निर्वाचनमा वाम गठबन्धन हुँदा पनि पराजित हुनुभयो ।

प्रकाशशरण महत
नुवाकोटमा जन्मिएका कांग्रेस प्रवक्ता प्रकाशशरण महतले पछिल्लो निर्वाचन काठमाडौं क्षेत्र नम्बर ५ बाट लड्नुभयो । कांग्रेसको किल्ला मानिएको यस क्षेत्रमा नरहरि आचार्यले जित हात पार्दै आउनुभएको थियो । तर, पछिल्लो निर्वाचनमा भने महत एमालेका तत्कालीन महासचिव ईश्वर पोखरेलसँग पराजित हुनुभयो ।

योगेश भट्टराई
योगेश भट्टराईको जन्म ताप्लेजुङमा भएको हो । २०६४ र ७० को निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ बाट उम्मेदवारी दिनुभयो । दुबै निर्वाचनमा पराजित भएपछि भट्टराई २०७४ मा आफ्नै जन्मथलो लाग्नुभयो । त्यहाँ भने उहाँ विजयी हुनुभयो ।

आसन्न निर्वाचनमा पनि कतिपय उम्मेदवार आफ्नो थातथलोभन्दा बाहिरका निर्वाचनबाट भिड्ने सम्भावना देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्