Main News

राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार

हिमालय टिभी
२०७९ साउन २९ गते २०:५२
राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार

२९ साउन २०७९ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गर्नु भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा, कानुनमन्त्री गोविन्द कोइराला र महान्यायाधिवक्ता खम्बबहादुर खातीसँग छलफल गर्नु भएकी राष्ट्रपति भण्डारीले संघीय संसद्का दुबै सदनबाट पारित गरेर प्रमाणीकरणका लागि पेस भएको नागरिकता विधेयक फिर्ता पठाउनु भएको हो ।

गत साउन १५ गते सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेर प्रमाणीकरणका लागि पठाएको विधेयकमा पुनर्विचार हुन आवश्यक देखिएकाले फिर्ता पठाइएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

संविधानको धारा ११३ को उपधारा ३ बमोजिम राष्ट्रपतिलाई विधेयक पुनर्विचार गर्नुपर्छ भन्ने लागेर संसदमै फिर्ता पठाउनु भएको प्रवक्ता सागर आचार्यले निकालेको विज्ञप्तिमा लेखिएको छ ।

अब संघीय संसद्का दुवै सदनले फेरि विधेयक पारित गरेर पठाए राष्ट्रपतिले अनिवार्य विधेयक प्रमाणीकरण गर्नैपर्छ । अर्थात् नेपालको संविधानको ११३ को उपधारा ४ अनुसार संसद्ले संशोधन नगरेर पनि नागरिकता विधेयक फेरि राष्ट्रपतिसमक्ष पेस गर्न सक्छ । तर, दुवै सदनबाट विधेयक फेरि पारित हुन भने आवश्यक हुन्छ ।

त्यसरी पठाएको विधेयक राष्ट्रपतिले फेरि फिर्ता गर्न सक्ने सुविधा संविधानले दिएको छैन । संवैधानिक व्यवस्था अनुसार नागरिकता विधेयक दुवै सदनले संशोधन गरेर वा नगरेर फेरि पेस गरेमा राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने हुन्छ ।

नागरिकता विधेयक गत साउन ६ गते प्रतिनिधिसभाबाट र साउन १२ गते राष्ट्रियसभाबाट पारित भएर साउन १५ गते प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *