राजनीति

गठबन्धन डर र कर दुवै हो : वरिष्ठ नेता पौडेल (भिडियो रिपोर्टसहित)

२०७९ साउन २९ गते १०:०७
गठबन्धन डर र कर दुवै हो : वरिष्ठ नेता पौडेल (भिडियो रिपोर्टसहित)

२९ साउन २०७९ चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन डर र कर दुवै भएको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले गठबन्धन कांग्रेसले नगरे अन्य पार्टीले गर्नेछन् भन्नुभयो ।

उहाँले भन्नुभयो, “ कांग्रेसले गठबन्धन नगरे अन्य पार्टीले गरिहाल्छन्, यसैले गठबन्धन कर पनि हो डर पनि होे ।” अहिलेको आवश्यकता मिलेर जानुपर्ने रहेको उहाँको भनाइ थियो । एक्लाएक्लै निर्वाचनमा गएर पछि गठबन्धन गरे पनि फरक नपर्ने जनाउँदै नेता पौडेलले अहिलेको आवश्यकता मिलेर, तालमेल गरेर जानुपर्ने रहेको बताउनुभयो । गठबन्धनमा तालमेल गरेर जाने कुरामा छलफल जारी रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कुरा चलिरहेको छ, मिलाउने कोसिस हुन्छ ।”

को कहाँबाट उम्मेदवार बन्ने भन्ने विषयमा अहिले निर्णय नभएको जनाउँदै उहाँले गठबन्धनभित्र दाबी हुनु स्वाभाविक रहेको बताउनुभयो । दलहरूको धरातलीय पाटो हेरेर कुन क्षेत्रमा कसको सम्भावना छ त्यहीअनुसार अघि बढ्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “तलको जनमत हेरेर निर्णय लिन्छौँ ।” उहाँले थप्नुभयो, “कुन उम्मेदवारलाई अघि सार्दा कस्तो होला, जनमत कसको बढी छ त्यसलाई आधार मान्नुपर्छ ।” कांग्रेसले कांग्रेस जिताउने अभियान चलाउन कार्यकर्ताहरूलाई अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, “कांग्रेसले कांग्रेसलाई जिताउने हो हराउने होइन ।”

आगामी निर्वाचनपछि देशको प्रधानमन्त्री तपाईँ हो भन्ने पत्रकारको प्रश्नको जवाफमा उहाँले भन्नुभयो “यो निर्णय लिने जिम्मा पार्टीको हो । अहिले नै घोषणा गर्ने समय भएको छैन ।” कांग्रेस देशमा अहिले राजनीतिक स्थिरता, सुशासन र सामाजिक न्यायको पक्षमा रहेको उहाँले बताउनुभयो । फरक प्रसङ्गमा उहाँले नागरिकता विधेयक संसद्ले पास गरेकाले राष्ट्रपतिबाट रोकिन हुँदैन भन्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्