प्रहरी समायोजनको माग गर्दै मधेस प्रदेशका गृहमन्त्री आजबाट धर्नामा बस्दै
२९ साउन २०७९ जनकपुरधाम । सङ्घीय सरकारले समयमा प्रहरी समायोजन नगरेको भन्दै मधेस प्रदेश सरकारका गृह तथा सञ्चार मन्त्री भरत साह आजबाट धर्नामा बस्न लाग्नुभएको छ ।
प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न प्रधानमन्त्रीलाई भेटेरै आग्रह गरेको र यसअघि समयसीमा दिँदै ज्ञापन पठाउँदासमेत ध्यान नदिएको भन्दै मन्त्री साह प्रदेश प्रमुखको कार्यालयमा धर्ना बस्न लाग्नुभएको हो ।
मन्त्री साहले आफूले पटकपटक प्रहरी समायोजनाका लागि भने पनि सङ्घ सरकारले बेवास्ता गरेका कारण बाध्य भएर धर्ना बस्न लागेको बताउनुभयो । उहाँले ५ वर्षमा प्रहरी समायोजन गर्न नसकेका कारण प्रदेशको सुरक्षा निकायबारे अन्यौलता रहेकाले धर्ना दिन लागेको बताउनुभयो ।
उहाँले आजदेखि बिहान ११ देखि १ बजेसम्म प्रदेश प्रमुख कार्यालयमा धर्ना दिने हुनुभएको छ । धर्नामा मन्त्रीसहित सांसद र नागरिक समाजका अगुवाको पनि सहभागिता रहनेछ ।
एक हप्ताभित्र पनि माग सम्बोधन नभए नेपाल सरकारविरुद्ध थप आन्दोलनको कार्यक्रम घोषणा गरिने मन्त्री साहले चेतावनी दिनुभयो ।
प्रतिक्रिया