राजनीति

राजनीतिक विरासत केन्द्रित निर्वाचन, मतदाता कहिले हुने सचेत ? (भिडियो रिपोर्टसहित)

२०७९ साउन २८ गते २०:३७
राजनीतिक विरासत केन्द्रित निर्वाचन, मतदाता कहिले हुने सचेत ? (भिडियो रिपोर्टसहित)

२८ साउन २०७९ काठमाडौं । राजनीतिक दलका घोषणापत्र, उम्मेदवारले अघि सारेका योजना र उम्मेदवारकै पृष्ठभूमि हेरेर मतदाताले निर्वाचनमा मत खसाउनुपर्ने हो । तर अहिलेको परिदृश्यलाई हेर्ने हो भने विचार, योजना र उम्मेदवारको व्यक्तित्व भन्दा पनि दल, नाम र राजनीतिक विरासत केन्द्रित निर्वाचन हुने देखिएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति तय नहुँदै सत्तारुढ पाँच दलले आगामी निर्वाचनमा पनि गठबन्धन गरेरै जाने घोषणा गरिसकेका थिए । अहिले यी दलहरु निर्वाचन क्षेत्रको सिट बाँडफाटमा लागेका छन् ।

सबैलाई अवगत नै छ सत्तागठबन्धनमा आवद्ध दलमध्ये कोही आफूलाई कम्युनिष्ट पार्टी भन्छन् भने कोही आफूलाई प्रजातान्त्रिक पार्टीको रुपमा चिनाउँछन् । विचारले एक अर्कालाई शत्रु मान्ने दलहरु निर्वाचनमा पाएसम्म एउटै चुनाव चिन्हमा प्रतिस्पर्धा गर्नसमेत तयार छन् ।

त्यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि निर्वाचनमा गठबन्धन नगर्ने निर्णय सुनाउँदै हिँडे पनि गठबन्धनका ढोका चाहीँ खुल्लै छ भनिरहेको छ ।

स्थानीय तह निर्वाचनमा सत्तारुढ पाँच दल एक ठाउँमा हुँदा एक्लै लडेको दाबी गरेको एमालेले विभिन्न तहमा कयौँ पार्टीसँग गठबन्धन गरेको थियो । उसले गठबन्धन गरेका कतिपय पार्टीहरु संविधानविरुद्ध र जनआन्दोलनका मुख्य उपलब्धिविरुद्ध घोषित रुपमै अभियान चलाइरहेका पार्टी थिए।

यतिबेला पनि एमाले यस्ता दलहरुसँग ताल मिलाएर निर्वाचनमा जान सक्ने प्रयास र सम्भावना दुवै देखिन्छ । चुनाव जित्न दलहरु जे पनि गर्न तयार रहेको विश्लेषक डम्बर खतिवडाको भनाइ छ ।

अर्कोतर्फ दलका घोषणा पत्र औपचारिकताका लागि मात्रै बन्ने गरेको विगतका निर्वाचनहरुबाट नै छर्लङ्ग भइसकेको छ । घोषणापत्रमा एकथरी कुरा लेख्ने तर चुनावी भाषणमा भने एक–अर्कोविरुद्ध आगो ओकल्ने काममा दल र उम्मेदवारहरु तल्लीन हुन्छन् ।

यस पटकको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी पनि उल्लेखनीय रुपमा पर्ने निश्चित जस्तै देखिएको छ । कतिपय व्यक्तिले स्वतन्त्ररुपमा उम्मेदवारी घोषणा नै गरिसकेका छन् । आफूलाई स्वतन्त्र उम्मेदवार भन्नेहरु पनि जनता माझ मुद्दा र योजना लिएर जानेभन्दा पनि पुराना नेता र दलको कुरा काट्ने काममा मात्र आफूलाई केन्द्रित गरिरहेका छन् ।

दल र उम्मेदवारमा भन्दा बढी समस्या मतदातामा देखिन्छ । ५ वर्षसम्म त्यही दल र नेतालाई गाली गरिरहने तर भोट हाल्दा फेरी आँखा चिम्लेर उनीहरुलाई हाल्ने कुरा मतदाताको सबैभन्दा ठूला समस्या देखिन्छ ।

घोषणा पत्र भनेकै मतदातालाई प्रभावित पार्ने दस्ताबेज हो । तर मतदातालाई कसले कस्तो योजना बनाएर भोट माग्न आयो भन्ने भन्दा पनि कसले कति गाली गर्‍यो वा कति खुवायो भन्नेमा केन्द्रित भएको देखिन्छ ।

त्यसबाहेक आफ्नो शरीरमा निश्चित दलको रगत नै बगेको ठानेर रगतको साइनो परिवर्तन गर्न हिचकिचाउने समस्या मतदातामा छ । तर नेतालाई गाली गरिरहने र भएन भनिरहने मतदाता आफैँ सचेत भएर लाग्ने हो भने, आफूलाई परिवर्तन गर्ने हो भने निर्वाचनको शैली मात्र होइन देशमा पनि परिवर्तन सम्भव देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्