Main News

रत्नपार्कमा जे देखियो…(भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ साउन २८ गते २०:२७
रत्नपार्कमा जे देखियो…(भिडियो रिपोर्टसहित)

२८ साउन २०७९ काठमाडौं । काठमाडौंको मध्यभागमा रहेको रत्नपार्क अचेल काठमाडौंवासीहरुको टहलिने ठाउँ बन्न थालेको छ । यो पार्क यतिबेला नाम परिवर्तन गरेर शंखधर उद्यान मात्र बनेको छैन पैसा नै तिरेर घुम्ने र टहलिने गन्तव्य बनेको छ । कस्तो छ त अहिले त्यो ऐतिहासिक रत्नपार्क ?

काठमाडौंको अत्यधिक व्यस्त क्षेत्रमा पर्छ रत्नपार्क । २४सै घण्टाजसो गाडी गुडिरहने र मानिस हिँडिरहने चौडा सडकको बीचमा ४२ रोपनी क्षेत्रफलमा रहेको यो पार्क पछिल्लो समय वृद्धवृद्धादेखि बालबालिकासम्मको आकर्षणको केन्द्र बनेको छ ।

रत्नपार्क राजा मेहन्द्रले महारानी रत्नराज्य लक्ष्मीलाई उपहारस्वरुप निर्माण गरिदिनु भएको थियो । विक्रम सम्बत २०१८ सालमा निर्माण शुरु गरेर २०२१ सालमा सम्पन्न भएको यो पार्क त्यतिबेलैदेखि बटुवाका लागि चौतारी बनेको थियो ।

केही वर्षअघि भने यो पार्क जीर्ण हुँदै गयो । एकातिर संरक्षण अभाव र अर्कोतिर नगरवधुहरुको मोलमोलाईको केन्द्रका कारण बदनाम भएको पार्क अहिले काठमाडौं महानगरको पहलमा सुन्दर बनेको छ, संरक्षण भएको छ । त्यसो त २०५८ सालमै यसको स्वामित्व महानगरलाई गएको थियो । २०६३ कार्तिक १ गतेदेखि महानगरले यो पार्कलाई ग्रहण गरेर संरक्षको प्रयास गरे पनि केही समय यो पार्कको अवस्था फेरिएन ।

२०७१ वैशाखमा भने महानगरले पार्कको पुनर्निर्माण गर्न रत्नपार्कलाई पूर्ण रुपमा बन्द गर्‍यो र त्यसको १५ महिनापछि सम्पूर्ण सजावट र व्यवस्थापनको काम सकेर सबैका लागि खुला गर्‍यो । यो पार्क अहिले कसैलाई पर्खिने, घाम ताप्ने, साथीभाइ भेट्ने मात्र होइन बालबालिकाका लागि घुम्न जाने गन्तव्यसमेत बनेको छ ।

अहिले यो पार्कको नाम नै फेरिएर शंखधर उद्यान बनेको छ । तर वर्षौँदेखि रत्नपार्ककै रुपमा परिचित यो पार्क यही नाम बोकेर अहिले लोकप्रिय बनेको छ । घुम्न आउनेका लागि रत्नपार्क गज्जब लाग्ने गरेको छ, उनीहरु पहिलेको भन्दा फरक पाएको अनुभूति सुनाउँछन् ।

पार्क व्यवस्थित भएसँगै यहाँ छिर्न शुल्कसमेत लाग्ने गरेको छ । शुल्कबाट सामान्यतया दिनमा २५ देखि ३० हजार रुपैयाँ संकलन हुन्छ, भने शनिबार तथा बिदाका दिन ५० देखि ६० हजार रुपैयाँ संकलन हुने गरेको छ ।

अचेल यो पार्क म्युजिक भिडियो, टेलिचलचित्र र चलचित्रसमेत छायांकनको गन्तव्य बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *