राजनीति

तेह्रथुम : खापुङलाई जित्न कांग्रेसको सबै मत चाहिने,उम्मेदवार खोज्दै एमाले (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ साउन २८ गते १८:०५
तेह्रथुम : खापुङलाई जित्न कांग्रेसको सबै मत चाहिने,उम्मेदवार खोज्दै एमाले (भिडियो रिपोर्टसहित)

२८ साउन २०७९ काठमाडौं । प्रदेश–१ को पहाडी जिल्ला तेह्रथुममा पनि चुनावी चहल पहल शुरू भएको छ । सत्तारुढ गठबन्धन र एमाले समान हैसियतमा देखिएको यो जिल्लामा एकीकृत समाजवादीको अवस्था भने अत्यन्तै कमजोर छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङलाई चुनाव जित्न कांग्रेस माओवादीको सबै भोट पनि अप्रयाप्त हुने देखिँदा बलियो शक्ति एमाले भने हेविवेट उम्मेदवारको खोजीमा छ ।

गत संघीय चुनावमा विजयी भएका एमाले नेता भवानीप्रसाद खापुङ माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा लागेपछि आगामी संसदीय चुनावमा एमालेलाई तेह्रथुममा हेभिवेट नेता पाउन सकस छ ।

हाल गठबन्धन सरकारको स्वास्थ्य तथा जनसंख्यामन्त्री रहेका खापुङ गत चुनावमा कांग्रेस नेतृ सीता गुरुङलाई २ हजार २१ मतले हराउँदै लगातार दोस्रो पटक निर्वाचित हुनुभएको थियो ।

तेह्रथुममा एक प्रतिनिधिसभा तथा दुई प्रदेशसभा सदस्यमा एमालेका उम्मेदवार विजयी भएका थिए । संघमा खापुङले २१ हजार ३ सय ३५ र कांग्रेसकी गुरुङले १९ हजार ३ सय १४ मत ल्याउनुभएको थियो । प्रदेशसभाको दुबै सिटमा पनि जितेको एमालेबाट क मा लक्ष्मण तिवारी र ख मा तेजमान तन्दङ्बा विजयी हुनुभएको थियो ।

२०७४ को संघीय चुनावको मत परिणाम
भवानीप्रसाद खापुङ, नेकपा एमाले २१ हजार ३ सय ३५ मत
सीता गुरुङ, नेपाली कांग्रेस १९ हजार ३ सय १४ मत
मतान्तर ( २ हजार २१ मत

६ स्थानीय तह रहेको तेह्रथुममा गत स्थानीय तह निर्वाचनमा एमाले र कांग्रेसले बराबर तीन(तीन पालिका जितेका छन् । स्वास्थ्यमन्त्री खापुङको दल भने निल भएको छ ।

एमालेले छथर र मेन्छयामेय गाउँपालिका र जिल्ला सदरमुकाम रहेको म्याङलुङ नगरपालिकामा जित हात पारेको छ। त्यस्तै, कांग्रेसले आठराई र फेदाप गाउँपालिकासहित लालीगुराँस नगरपालिका जितेको छ ।

स्थानीय तह २०७९ को वडागत मत परिणाम
नेकपा एमाले– २२३१२
नेपाली कांग्रेस– २१९११
नेकपा माओवादी केन्द्र– ६८६
नेकपा एकीकृत समाजवादी– ५४६

स्थानीय तहको परिणामका आधारमा एमाले जिल्लाको पहिलो शक्तिका रुपमा देखिएको छ । तर जनमत नै नभएका मन्त्री खापुङ एकीकृत समाजवादीबाट उम्मेदवार बन्ने तयारी गरिरहँदा कांग्रेसकी गुरुङले पनि आन्तरिक तयारी थाल्नुभएको छ ।

एमालेबाट तिवारी वा तन्दङ्बा मध्ये एक उम्मेदवार बन्ने सम्भावना छ भने अन्य विकल्पमा पनि छलफल भइरहेको एमालेका नेताहरुले बताएका छन् । यदी खापुङले गठबन्धनबाट टिकट पाए कांग्रेसको सबै मत पाउँदा पनि जित अनिश्चित देखिन्छ । तर कांग्रेसकी गुरुङले टिकट पाएमा एमालेका उम्मेदवारसँग चर्को प्रतिस्पर्धा हुने निश्चित छ । उम्मेदवारको खोजिमा रहेको एमाले यो पटक खापुङ बहिर्गमनको घाउमा मल्हम लगाउने मात्रै हैन ह्याट्रिक गर्ने योजनामा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्