राजनीति

एमालेलाई एक्ल्याउने सत्तागठबन्धनको यस्तो छ रणनीति (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ साउन २४ गते २०:४२
एमालेलाई एक्ल्याउने सत्तागठबन्धनको यस्तो छ रणनीति (भिडियो रिपोर्टसहित)

२४ साउन २०७९ काठमाडौं । सत्तागठबन्धनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई एक्ल्याउने गरी तालमेलको प्रयास थालेको छ । त्यसका लागि गठबन्धनमा रहेका दलबाहेकका अन्य दलसँग पनि तालमेलका लागि गठबन्धनले संवाद शुरु गरेको छ ।

सत्तागठबन्धनमा रहेका ५ दलले मंसिर ४ मा हुने संघ र प्रदेशको निर्वाचनमा तालमेल गर्ने सहमति मात्र गरेका छैनन्, कार्यदल बनाएरै सिट बाँडफाँडको कसरत पनि थालिसकेका छन् । कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालाई संयोजक तोकेको कार्यदलले कुन निर्वाचन क्षेत्र गठबन्धनको कुन दललाई दिने भन्नेबारे टुंगो लगाउनेछ ।

टुंगो लगाउन नसकेका सिटबारे भने शीर्ष तहबाट निर्णय हुनेछ । गठबन्धनको मुख्य दल नेपाली कांग्रेसले प्रत्यक्ष निर्वाचित हुने १ सय ६५ मध्ये १ सय सिटमा दाबी गरेको छ भने माओवादी केन्द्रले दोस्रो दल आफू हुने गरी सिट बाँडफाँट हुनुपर्ने बताइसकेको छ । गठबन्धनमा रहेका ४ दल माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा भने कांग्रेसलाई ५० प्रतिशत मात्र सिट दिनुपर्ने अडानमा छन् ।

सत्तागठबन्धनभित्र सिट बाँडफाँटको काम चलिरहँदा गठबन्धनबाहिर रहेको दल लोकतान्त्रिक समाजवादी पार्टीसँग पनि गठबन्धनले छलफल जारी राखेको छ ।

उसो त लोसपा मात्र होइन नवगठित बाबुराम भट्टराई र वामदेव गौतम नेतृत्वको पार्टीसँग पनि ५ दलीय गठबन्धनले आउँदो निर्वाचनमा सहकार्यका लागि हात अघि बढाएको छ । लोसपासँग कांग्रेसले, भट्टराई र गौतमसँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफल गरिरहनुभएको छ ।

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार बालुवाटारमा भएको छलफलमा लोसपालाई सत्तागठबन्धनमा सहभागी हुन आग्रह गरिसक्नुभएको छ । जुन प्रस्तावलाई लोसापाले सकारात्मक रुपमा लिएको छ ।

सत्तागठबन्धनले गठबन्धनबाहिरका दललाई समेत सहभागी गराएर महागठबन्धन बनाउने र एमालेलाई एक्ल्याउने प्रयास जारी राखेको छ । तर, कांग्रेसले ६० प्रतिशत बढी सिट लिन खोज्ने र गठबन्धनका अन्य वामघटक ५० प्रतिशतभन्दा दिन नसक्ने अडानकाबीच गठबन्धनबाहिरका दलसँग पनि तालमेलको प्रयास सहज भने देखिँदैन । तर, एमालेलाई आउँदो निर्वाचनमा जसरी पनि खुम्च्याउने प्रयासमा रहेकाले सत्ता गठबन्धनका दलहरु सिट बाँडफाँटमा लचिलो हुने हो भने महागठबन्धनको सम्भावना असम्भव भने देखिँदैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्