Main News

एउटै चिन्ह लिएर दलहरु चुनावमा सहभागी ! नयाँ दलको हकमा भिन्न व्यवस्था (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ साउन २१ गते २१:१०
एउटै चिन्ह लिएर दलहरु चुनावमा सहभागी ! नयाँ दलको हकमा भिन्न व्यवस्था (भिडियो रिपोर्टसहित)

२१ साउन २०७९ काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्ने घोषणा गरेसँगै निर्वाचनको अन्य तयारी पनि अघि बढाएको छ । आयोगले दल दर्ता गर्न र एउटै चुनाव चिन्ह लिएर निर्वाचनमा भाग लिन चाहने दुईभन्दा बढी दलहरुलाई निवेदन दिन सूचित गरिसकेको छ ।

सत्ता गठबन्धनमा रहेका ५ दलले आउँदो संघ र प्रदेश निर्वाचनमा गठबन्धन गर्ने सहमति गरिसकेका छन् । उनीहरुले सिट बाँडफाँडका लागि कार्यदल बनाएरै काम अघि बढाउँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने सशंकित देखिन्छ । यसरी ५ दलबीच भएको चुनावी तालमेल संविधानविपरीत नै भएको कतिपय एमाले नेताको जिकिर छ ।

एमाले नेता रावलले यस्तो दाबी गरिरहँदा निर्वाचन आयोगले भने एउटै चुनाव चिन्ह लिएर निर्वाचनमा जान चाहने दुई वा त्यो भन्दा बढी दलसँग निवेदन नै मागिसकेको छ । यसरी एउटै चुनाव चिन्ह लिएर चुनाव लड्न चाहने भिन्न दलहरुले आयोगमा आफ्नो पार्टी खुल्ने गरी निवेदन दिनुपर्ने व्यवस्था छ । राजनीतिक दलसम्बन्धि ऐनको दफा ४७ मा एकल चुनाव चिन्ह लिई निर्वाचनमा भाग लिन सक्ने व्यवस्था छ । यसरी निर्वाचित हुँदा कसरी बन्छ त एउटै संसदीय दल ?

पहिलै चुनाव चिन्ह पाइसकेको दलको हकमा एउटै चुनाव चिन्हमा चुनाव लडेपनि त्यतिबेला दलहरुबीच भएको सहमतिले पछि कारवाहीको विषय तय हुन्छ । तर, नयाँ दलको हकमा भने भिन्न व्यवस्था छ ।

हाल निर्वाचन आयोगमा ११३ दल दर्ता छन् । आयोगले ती दललाई साउन ३१ गतेसम्म दल दर्ताका लागि समय तोकेको छ । दल दर्ताको निवेदन दिँदा प्रतिनिधि सभा सदस्यको छुट्टै र प्रदेशसभा सदस्यको हकमा प्रदेशगत ७ वटा प्रदेशको लागि छुट्टाछुट्टै निवेदन दिनुपर्नेछ । यसअघि हृदयेश त्रिपाठी एमालेको चुनाव चिन्ह सूर्यबाट निर्वाचन लड्नुभएको थियो ।

अहिले आयोगले सूचना जारी गरेपनि एउटै चुनाव चिन्हको माग गर्दै कुनै दल आयोग भने पुगिसकेका छैनन् । तर, सत्तागठबन्धनले तालमेलको सहमति गरेसँगै प्रतिपक्षी दल पनि मोर्चाबन्दीको तयारीमा छन् । त्यसैले आयोगले दिएको अन्तिम मितिसम्ममा एउटै चुनाव चिन्हमा निर्वाचन लड्न चाहने दलहरु आयोग पुग्न सक्ने सम्भावना भने बलियो देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *