राजनीति

पदलोभी बुढा नेता भन्छन्, परिस्थितिले बिदा हुन दिएन (भिडियो रिपोर्टसहित)

२०७९ साउन २० गते २१:२२
पदलोभी बुढा नेता भन्छन्, परिस्थितिले बिदा हुन दिएन (भिडियो रिपोर्टसहित)

२० साउन २०७९ काठमाडौं । नेपालको राजनीतिको अघिल्लो पुस्ता जसको नेतृत्वमा वर्षौदेखि देश चलिरहेको छ उहाँहरुलाई अब बिदाइ गर्नुपर्छ भन्ने बहस शुरु भएको छ । यसैबीचमा अघिल्लो पुस्तामै पर्ने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने ७० वर्षपछि राजनीतिबाट विश्राम लिन चाहेपनि परिस्थितिले नदिएको बताउनु भएकोछ । उहाँको यो भनाइ हाँस्यास्पद छैन र ?

नेपालका नेताहरुको भनाइ सुन्दा पनि उदेक लाग्छ । जीवनभर पद र शक्ति वरिपरि रमाउन खोज्ने नेताहरुको कमी छैन । ७० वर्ष आसपासमा रहेका नेताहरु अझै भन्न छाड्दैनन, मेरो विकल्पै छैन । बिहीबार मात्र एउटा कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफू सक्रिय राजनीतिबाट विश्राम लिन चाहेपनि परिस्थितिले नदिएको हाँसोलाग्दो भनाइ राख्नुभयो ।

२८ वर्षदेखि कुनै न कुनै रुपमा सत्ता र शक्तिमै रमाएका माधवकुमार नेपाललाई अझैं सत्ताको भोक मेटिएको छैन। त्यसैले त उहाँ भन्नुहुन्छ–समय परिस्थितिले विश्राम लिनै दिएन । अहिलेसम्म अध्यक्ष नेपालले कुन काम त्यस्तो गर्नुभयो जसले जनता उहाँप्रति अनुग्रही बनुन् ? सायद, जवाफ उहाँसँग पनि छैन । उहाँसँगै जोडिएको एउटा दृष्टान्त छ, उहाँ कतिसम्म लोभी र सत्ताको चास्नीमा रमाउनुहुन्छ भन्ने हेर्न २०६४ सालको संविधानसभामा पुगौ ।

त्यस चुनावमा पराजित नेपाल तत्कालीन सरकारको सिफारिसमा पुनः सभासद् मनोनित हुनुभयो । त्यतिमात्र होइन, त्यही बलमा उहाँ २०६६ जेठ ११ गते मुलुकको प्रधानमन्त्रीसम्म बन्नुभयो । जनताबाट पराजित नेपाल, घुमाउरो बाटोबाट जनताकै शासक बन्नुभएको त्यो उदाहरण आफैंमा काफी छ, उहाँ कतिको पदलोलुप हुनुहुन्थ्यो भनेर । उहाँले त्यस्तै लोभ ७० वर्ष हुनै लाग्दा पनि देखाउनुभएको छ ।

उहाँ जस्तै, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उहाँहरु एउटै उमेर समूहको प्रतिनिधित्व गर्नुहुन्छ । सधैं सत्ता र शक्तिमा रहेका उहाँहरु आफ्नो विकल्प हेर्नै चाहनुहुन्छ । न त उहाँहरुले देश बनाउने कुनै योजनै ल्याउन सक्नुभएको छ । त्यसैले पछिल्लो पुस्ता भन्छ–वृद्ध नेताहरुको अहमताले देशलाई घाटा पुर्‍याउँदैछ । अबको आम निर्वाचनमा आराम गर्नुपर्ने पुराना पुस्ता विस्थापित हुनैपर्छ ।

अर्कोतर्फ डेढ दशक नेकपा एमालेका महासचिव, अहिले एकीकृत समाजवादी पार्टीको अध्यक्ष र प्रधानमन्त्री भएर देश हाँकेको अनुभव लिएका नेताले आफू पछिको नेतृत्व तयार गर्न नसक्नु उहाँकै लागि नैतिक प्रश्न उठ्ने नयाँ पुस्ताका राजनीतिककर्मीको भनाइ छ ।

पछिल्लो समय नेपालसँगै ७० वर्ष पार गरेका अघिल्लो पुस्ताको नेतृत्वलाई विश्राम दिनुपर्छ र युवाहरु राजनीतिमा आउनुपर्छ भन्ने आवाज बलियो गरी उठेको छ । आगामी निर्वाचनमा युवाहरुले प्रतिस्पर्धा गर्ने घोषणा गरिसकेको पृष्ठभूमिमा अघिल्लो पुस्ताले आफूहरु बिना देशको राजनीति चल्दैन भन्ने दाबी गर्नु तर्क संगत नहुने जानकार बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्