Main News

भाषा र सीप परीक्षा उत्तीर्ण गरेका नेपाली नागरिक जापान जान पाउने

हिमालय टिभी
२०७९ साउन १९ गते ७:४३
भाषा र सीप परीक्षा उत्तीर्ण गरेका नेपाली नागरिक जापान जान पाउने

१९ साउन २०७९ काठमाडौं । भाषा र सीप परीक्षा उत्तीर्ण गरेका नेपाली नागरिक जापान जान पाउने भएका छन् ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्पेसिफाइड स्किल वर्कर प्रणाली मार्फत भाषा र सीप परीक्षा उत्तीर्ण गरेका ८५० जनालाई जापान पठाउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । नेपाल र जापानबीच भएको श्रम समझदारीअनुसार नेपाली युवालाई जापानको श्रम बजार प्रवेशमा सहजीकरण गर्ने उद्देश्यले आज संयुक्त कार्यसमितिको बैठक बस्दै छ।

बैठकमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेलको नेतृत्वमा परराष्ट्र र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधि सहभागी हुनेछन् ।

जापान सरकारका तर्फबाट सहायक उपमन्त्री चोसुमो नाकागावाको नेतृत्वमा जापानी प्रतिनिधिमण्डल बैठकमा सहभागी हुने जनाइएको छ । बैठकले नेपाली नागरिकलाई जापानमा रोजगारी दिने सन्दर्भमा बृहत् छलफल गरी उपयुक्त निर्णयका लागि दुवै देशका सरकारलाई सिफारिस गर्नेछ ।

संयुक्त कार्यसमितिको पहिलो बैठक सन् २०२० को नोभेम्बरमा भर्चुअल माध्यमबाट बसेको थियो। पहिलो बैठकको सहमतिअनुसार जापानमा केयरगिभर, कृषि, निर्माण क्षत्रे र रेस्टुरेन्टमा करिब ८५० नेपालीले रोजगारी प्राप्त गरेका छन् ।

सन् २०१९ मा नेपाल र जापानबीच एसएसडब्ल्यू प्रणालीअन्तर्गत नेपाली नागरिकलाई जापानमा रोजगारीका अवसर प्रदान गर्ने गरी श्रम समझदारी भएको थियो । सो प्रणालीअन्तर्गत जापानका १४ वटा विभिन्न पेशागत क्षेत्रमा रोजगारी पाउने जनाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *