Main News

स्तनपान सप्ताहको उद्देश्य पूरा भइरहेको छ त ?(भिडियो रिपोर्टसहित)

२०७९ साउन १८ गते २०:४०
स्तनपान सप्ताहको उद्देश्य पूरा भइरहेको छ त ?(भिडियो रिपोर्टसहित)

१८ साउन २०७९ काठमाडौं । अहिले विश्व स्तनपान सप्ताह चलिरहेको छ । नेपालमा पनि यो दिवस मनाउने गरिएको छ । तर, जुन उद्देश्यका लागि यो सप्ताह मनाउन थालिएको हो त्यो उद्देश्य भने पूरा हुन सकेको छैन । त्यसले गर्दा शिशु कुपोषणको शिकार मात्र भइरहेका छैनन् मृत्युदरमा कमीसमेत आउन सकेको छैन ।

नेपाल मल्टि इन्डिकेटर क्लष्टर सर्वे २०१९ काअनुसार नेपालमा शिशु जन्मेको १ घण्टाभित्रै स्तनपान सुरुवात गर्नेको संख्या ४२ प्रतिशत छ भने पूर्ण स्तनपान गराउनेको संख्या ६२ प्रतिशत मात्र छ । सर्वेक्षण अनुसार २ वर्षसम्म स्तनपान गराउनेको संख्या ८६।६ प्रतिशत छ ।

सर्वेक्षण अनुसार २०१४ मा ६ महिनासम्म आमाको दूधमात्रै खाने शिशुको प्रतिशत प्रदेश १ मा ४३ प्रतिशत थियो भने २०१९ सम्म आइपुग्दा ६१ प्रतिशत पुगेको छ, मधेश प्रदेसमा २०१४ मा ६९ प्रतिशत थियो भने २०१९ मा १ प्रतिशत बढेर भएर ७० प्रतिशत शिशुले पूर्णमात्र स्तनपान गर्ने गरेको तथ्याङ्क छ । बागमती प्रदेशमा २०१४ मा ४९ प्रतिशतले पूर्णमात्रा स्तनपान गराएको तथ्याङ्क थियो भने २०१९ आइपुग्दा थोरै बढेर ५१ प्रतिशत भएको छ ।

गण्डकी प्रदेशमा २०१४ मा पूर्णमात्रा स्तनपान गर्ने बच्चा ६४ प्रतिशत थिए भने २०१९ आइपुग्दा त्यो घटेर ५८ प्रतिशतमा झरेको छ । लुम्बिनीमा २०१४ मा ४८ प्रतिशत थियो भने २०१९ आइपुग्दा पूर्ण मात्रा स्तनपान गर्ने शिशुको प्रतिशत बढेर ६३ पुगेको छ । कर्णाली प्रदेशमा २०१४ मा पूर्णमात्रा स्तनपान गर्ने शिशु ५८ प्रतिशत मात्र थिए भने २०१९ सम्म ६८ प्रतिशत पुगेको छ ।

सुदूर पश्चिम प्रदेशमा २०१४ मा ६५ छ भने २०१९ सम्म आइपुग्दा त्यो प्रतिशत घटेर ५५ मा झरेको छ । यो सबै तथ्याङ्क हेर्दा स्तनपान गराउने विषय अझै धेरै जनचेतना फैलाउनुपर्ने आवश्यकता औल्याएको छ । सर्वेक्षणले ६ महिनासम्म पूर्णस्तनपान गराउने अवस्थालाई पनि विश्लेषण गरेको छ । सर्वेक्षणले ग्रामीण क्षेत्रमा ६९ प्रतिशतले पूर्णस्तनपान गराउने भएपनि, शहरी क्षेत्रमा ५८ प्रतिशतले मात्रै पूर्ण स्तनपान गराउने गरेको देखाउँछ ।

त्यस्तै निरक्षर ६८ प्रतिशतले आफ्नो शिशुलाई पूर्ण स्तनपान गराउने र साक्षर ५८ प्रतिशतले स्तनपान गराउने गरेको पाइएको छ । त्यस्तै गरीब परिवारको ६१ प्रतिशत र धनी परिवारको ५२ प्रतिशत शिशुले मात्रै पूर्णरुपमा स्तनपान गराउने गरेको देखिएको छ । यस्तो अवस्था किन आयो ?

यी तथ्याङ्कहरुले शिशुलाई आमाको दूध खुवाउने भन्दा पनि फर्मूलामा आधारित दुध खुवाउनेको संख्यामा बढी देखिन्छ । बच्चा जन्मिएको १ घण्टाभित्र आमाको दूध खुवाउँदा र ६ महिनासम्म आमाको दुध खुवाउँदा बच्चा र आमा दुवैलाई फाइदा हुन्छ । तर यो कुरा बुझ्न र बुझाउन नसक्दा, बालबालिकाहरुले आमाको दूध प्रशस्त मात्रामा खान पाएका छैनन् ।

शिशु जन्मेको ६ महिनासम्म शिशुलाई चाहिने सम्पूर्ण पौष्टिक तत्वहरु आमाको दूधमा पर्याप्त मात्रामा पाइन्छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ मा बाल मृत्युदरको ५३ प्रतिशत कारक कुपोषण रहेको थियो । ६ महिनासम्म आमाको दुध मात्र खुवाउँदा बाल मृत्युदरमा १३ प्रतिशतसम्म कमी ल्याउन सकिने, अन्तर्राष्ट्रिय जर्नल ल्यान्सेटले पुष्टि समेत गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *