राजनीति

महाकाली सन्धिमा कमजोरी स्वीकार: ओलीको चुनावी कार्ड कि राष्ट्रवाद ? (भिडियो रिपोर्टसहित)

२०७९ साउन १७ गते २१:०७
महाकाली सन्धिमा कमजोरी स्वीकार: ओलीको चुनावी कार्ड कि राष्ट्रवाद ? (भिडियो रिपोर्टसहित)

१७ साउन २०७९ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २५ वर्षपछि महाकाली सन्धिमा कमजोरी भएको स्वीकार्नु भएको छ । पार्टी विभाजन हुने अवस्था बन्दा पनि महाकाली सन्धिकै पक्षमा उभिएका ओलीको बोलीमा आएको परिवर्तनलाई अर्थपूर्ण ठानिएको छ ।

कुन बेला के खपत हुन्छ, एमाले अध्यक्ष केपी शर्मा ओली जानकार हुनुहुन्छ । करिब–करिब दुईतिहाइ बहुमत सरकारको नेतृत्व गरेका ओली आन्तरिक विवादले अहिले प्रमुख प्रतिपक्षको नेताका रुपमा उभिनुभएको छ ।

पुनः सत्ताको बागडोर सम्हाल्ने मनसाय बोकेका ओलीले २०७४ को चुनावअघि जस्तै राष्ट्रबादको नारालाई अघि सार्नुभएको छ । सोमबार मात्र अध्यक्ष ओलीले महाकाली सन्धिमा कमजोरी भएको स्वीकार गर्नुभएको छ । यो हेर्नुहोस् अध्यक्ष ओलीले दिएको अभिव्यक्ति ।

भारतसँगको महाकाली सन्धिलाई लिएर तत्कालीन सम्झौता पक्षधरमाथि राष्ट्रघातको आरोप लागेको थियो । तिनै आरोपितमध्ये ओली पनि एक हुनुहुन्थ्यो । महाकाली सन्धिलाई लिएर २०५३ सालमा एमाले विभाजित नै भएको थियो । सन्धिको असन्तुष्ट पक्ष तत्कालीन एमाले नेता हालका माले महासचिव सीपी मैनाली, वामदेव गौतम लगायतका नेताहरु थिए ।

ओली, माधव नेपालसहित १७ जना शेरबहादुर देउवा सरकारले पेश गरेको महाकाली सन्धिको प्रस्तावको पक्षमा उभिएका थिए । यो प्रस्तावको पक्षमा समर्थन जुटाउने मुख्य दायित्व नै ओलीले लिनुभएको थियो । यो सन्धिको २५ वर्षपछि बल्ल ओलीले सन्धिमा कमजोरी भएको स्वीकार्नुभयो । तर, अहिले नै किन रु उहाँले आफैं शक्तिशाली प्रधानमन्त्री हुँदा समेत सन्धि पुनरावलोकनका लागि प्रस्ताव किन गर्नुभएन रु प्रश्न स्वभाविक बनेको छ ।

त्यसबेला जलस्रोतमन्त्री हुनुहुन्थ्यो पशुपति शमशेर राणा । सन्धि पारित गराउन भूमिका खेलेका ओलीले कमजोरी भएको बताउँदा सोही कार्यक्रममा सहभागी राणाले भने ओलीको जस्तो कमजोरी स्वीकार गर्नुभएन । बरु उहाँले नेपालका समस्या समाधानको उपया जलस्रोत भएको भन्दै महाकाली सन्धिको बचाउ नै गर्नुभयो ।

एमालेले २०५२ चैत २० गते ओलीको संयोजकत्वमा सन्धि अध्ययन कार्यदल गठन गरेको थियो भने नेपाल सरकारले २०५३ असोज ४ गते महाकाली सन्धि अनुमोदन गरेको थियो । सो सन्धिपछि भारतले महाकालीको पानी बाँध बाँधेर एकलौटी रुपमा लगेको भन्दै विरोध हुँदै आएपनि सन्धि अनुमोदनमा भूमिका खेलेका दल र नेताहरुले बचाउ गर्दै आएका थिए ।

तर, अहिले फेरिएको ओलीको बोली साँच्चै गल्तीको महसुस हो वा आउँदै गरेको चुनावमा महाकाली सन्धि राष्ट्रघात मान्नेहरुको मत लिने चुनावी मसला मात्र हो, थाहा पाउन केही समय भने कुर्नैपर्ने हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्