Main News

आज पनि देशका विभिन्न भागमा पानी पर्ने

हिमालय टिभी
२०७९ साउन १६ गते ८:५६
आज पनि देशका विभिन्न भागमा पानी पर्ने

१६ साउन २०७९ काठमाडौं । आज पनि देशका विभिन्न स्थानमा मौसम बदली भई पानी पर्ने भएको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान आसपास तथा पूर्वतिर सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको छ ।

आज बिहानैदेखि देशका प्रदेश १, बागमती, गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

महाशाखाले आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । देशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको भन्दै महाशाखाले प्रदेश १, मधेश, बागमती, गण्डकी र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको पनि बताएको छ ।

आज राति देशभर सामान्य बदली रहने छ भने देशका पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले देशभर मौसम बदली रहने भएकाले विभिन्न भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको भन्दै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *