Main News

साउन १५ : किन खाने खिर ? (भिडियो रिपोर्टसहित)

२०७९ साउन १५ गते २१:०४
साउन १५ : किन खाने खिर ? (भिडियो रिपोर्टसहित)

१५ साउन २०७९ काठमाडौं । आज साउन १५ । आजको दिन घरपरिवार, आफन्त र साथीहरू मिलेर खिर खाने चलन छ । कृषि कर्ममा व्यस्त किसानले साउनेझरीमा विभिन्न मसलायुक्त खिर खाने गरेकाले यो चलन बसेको मानिन्छ । अहिले संस्कृतिका रुपमा खाइने खिर स्वास्थ्यका लागि निकै लाभदायी मानिन्छ ।

खानलाई मीठो, बनाउन सहज भएकाले पनि प्रायः सबैलाई खिर मनपर्छ । सबै उमेर समूहलाई मनपर्ने खिर, साउन १५ मा मात्रै होइन, अरु बेला पनि खाइन्छ । तर साउन १५ मा खाइने खिरको भने अलगै महत्व छ । प्राध्यापक देवमणि भट्टराई रोपाइँ सकिएपछि किसानहरु थाकेर राहतको सास फेर्न खिर संस्कृतिमा रमाउने गरेकाले यो आफैंमा महत्वपूर्ण भएको बताउनुहुन्छ ।

खान सहज भएकै कारण बालबालिकाको अन्नप्राशनसमेत खिर खुवाएर सुरुवात गर्ने चलन छ । सनातन वैदिक सभ्यताअनुसार पूजाआजा तथा शुभकार्यमा खिरलाई प्रसादका रूपमा लिइन्छ । साउन भगवान् शिवको महिना र शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खिरलगायत मिठाइ विधिपूर्वक चढाइन्छ । यसैले गर्दा साउनको मध्य पारेर खिर खाने चलन चलेको विश्वास छ ।

खिरलाई धार्मिक र साँस्कृतिक मात्रै हैन, स्वास्थ्यका हिसाबले पनि लाभदायी मानिन्छ । चामल, दुध, घीउ, काजु, किसमिस, दालचिनी छोकडालगायतका सामग्री राखेर बनाइएको खिर स्वास्थ्यवर्द्धक पनि हुन्छ ।

घामपानी, भोक प्यास नभनी मानो रोपेर मुरी फलाउन मेहनत गर्ने किसानलाई खिर खाने दिनले बालीको उब्जनी नहुँञ्जेल पर्खने ऊर्जासमेत प्रदान गर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *