Main News

सिंहदरबारभित्रै सुरक्षा खतरा ! पुनरावलोकन होला ? (भिडियो रिपोर्टसहित)

२०७९ साउन १५ गते २०:२४
सिंहदरबारभित्रै सुरक्षा खतरा ! पुनरावलोकन होला ? (भिडियो रिपोर्टसहित)

१५ साउन २०७९ काठमाडौं । आर्थिक वर्ष २०७९–८० को बजेटमा करको दर हेरफेर गर्न अनधिकृत व्यक्तिको हात रहेको भन्नेबारे छानबिन गर्न बनेको समितिले सिंहदरबार भित्र सुरक्षा खतरा रहेको उल्लेख गरेको छ । के साँच्चै सिंहदरबार असुरक्षित छ त ?

देशकै मुख्य प्रशासनिक केन्द्र, सिंहदरबार कतिको सुरक्षित छ ? झट्ट हेर्दा चार तहको सुरक्षा घेरामा रहेको सिंहदरबार निकै सुरक्षित जस्तो लाग्छ तर, यथार्थमा त्यस्तो होइन । किनभने संसदको एउटा विशेष समितिले आफ्नो प्रतिवेदनमै सिंहदरबार असुरक्षित रहेको निश्कर्ष निकालेको छ ।

चालु आर्थिक वर्षको बजेटमा करको दर हेरफेर गर्न अनधिकृत व्यक्ति प्रवेशसम्बन्धमा छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले प्रतिवेदनमा अभिलेख राख्ने पद्धतिको कमीले कुन दिन कुन प्रयोजनका लागि कुन व्यक्ति प्रवेश गर्‍यो भन्ने एकिन गर्न नसक्ने अवस्था रहेको उल्लेख छ । यसले सिंहदरबारको सुरक्षा जोखिममा रहेको अर्थ लगाउन सकिन्छ ।

आम नागरिकलाई तुलनात्मकरुपमा कडाईं गरिए पनि पहुँचवाला र शक्ति केन्द्रका वरिपरि घुम्नेहरुका लागि सिंहदरबार निकै सहज छ । तर, उनीहरुको व्यवस्थित अभिलेख कुनै निकायसँग रहँदैन । दैनिक ५ हजार मानिस आवतजावत गर्ने सिंहदरबारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयदेखि सबैजसो मन्त्रालय रहेका छन् । यहाँका सीसीटीभीहरु पनि प्रभावकारी छैनन् । यसले के देखाउछ भने सिंहदरबार परिसरको समग्र सुरक्षा प्रणाली कमजोर छ । सिंहदरबार प्रवेशका लागि सम्बन्धित मन्त्रालयबाट प्राप्त प्रवेश पासका आधार परिचय पत्र देखाएर भित्र जान सकिन्छ ।

सीसीटीभी जडान तथा सञ्चालनसम्बन्धी कार्यविधि, २०७२ को दफा ३ ‘क ९५०’ ले सीसीटीभीमा रहेका दृश्यहरु कम्तिमा पनि तीन महिनासम्म सुरक्षित रहने गरी राख्नुपर्ने भनिएको छ । तर, कुनै पनि निकायले यो नियम पालना गर्दैनन् किनभने यहाँका सीसीटीभी पुरानाखालका छन् । तर सिंहदरबार गेटदेखि नै कुनै पनि मन्त्रालयको सीसीटीभी रेकर्ड एकीकृत नियन्त्रणमा छैनन् । अहिले बजारमा अत्यधुनिक क्यामेरा आइसकेको छ । यो जडानका लागि विभिन्न समितिहरुले सिफारिस गरिसकेका छन् । तर, कार्यान्वयन हुन सकेको छैन । त्यसैले जानकारहरु सिंहदरबारको सुरक्षा प्रणाली चुस्तदुरुस्त बनाउने हो भने अहिलेको प्रणाली पुनरावलोकन गर्नै पर्ने बताउँछन् ।

सिंहदरबारको सुरक्षा अवस्था यस्तै रहे, जुनसुकैबेला दुर्घटना नहोला भन्न सकिन्न । सिंहदरबार प्रवेश गर्ने दक्षिण र पश्चिमतर्फ गेटमा रहेको सीसीटीभी र भित्र मन्त्रालयमा रहेका सीसीटीभीसमेत गुणस्तरीय नहुँदा भित्र प्रवेश गरेपछि जो जहाँ पनि पुग्न सक्छ । सुरक्षाकर्मी गेटमा मात्र चेकजाँच गरेजस्तो गरेपनि भित्र गएपछि जुनसुकै मन्त्रालयदेखि मन्त्रीको कार्यकक्षसम्म पुग्न सक्छन् । जसले गर्दा अपराधिक समूहबाट समेत सुरक्षामा चुनौती सिहदरबार भित्र देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *