Main News

जापानमा नेपाल फेस्टिबल, विदेशी भूमिमा नेपाली कला, संस्कृति प्रवर्द्धन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ साउन १५ गते १६:२७
जापानमा नेपाल फेस्टिबल, विदेशी भूमिमा नेपाली कला, संस्कृति प्रवर्द्धन (भिडियो रिपोर्टसहित)

१५ साउन २०७९ टोकियो । रोजगारको सिलसिलामा विदेश पुगेका नेपालीले आफ्नो मातृभूमिको न्याश्रो मेट्न र आफ्नो कला संस्कृति प्रचार–प्रसार गर्न विभिन्न कार्यक्रम गर्दै आएका छन् । शनिबार र आइतबार जापानमा नेपाल फेस्टिबल मनाइएको छ । जहाँ नेपालीले आफ्नै भूमिमा जसरी भेषभूषा, नाचगान, मौलिक परिकारका साथ उत्सवका रुपमा मनाएका छन् ।

नेपालको भौगोलिक विविधता, कला संस्कृति, रितिरिवाजको प्रचार–प्रसार गर्ने मुख्य उद्देश्यले जापानमा रहेका नेपालीले हरेक वर्ष नेपाल फेस्टिबल आयोजना गर्दै आएका छन् । जापानमा नेपाली कला, संस्कृति प्रस्तुत गर्नेसँगै महोत्सवले नेपालीहरुबीच आपसी भाइचारा कायम गर्न र वर्षौसम्म नेपाल जान नपाएकालाई नेपालको न्याश्रो मेट्ने माध्यम बन्दै आएको छ ।

महोत्सव गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान र नेपाली राजदूतावास टोकियोले संयुक्त आयोजनामा गरेका हुन् । महोत्सवमा विभिन्न जातजातिका झाँकी, बाजागाजा, नृत्य एवं मौलिक कला कौशलसमेत प्रस्तुत गरिएको थियो ।

नेपालको ग्रामीण परिवेश झल्कने पुराना माटोले पोतेका घरसहित हिमाल, पहाड, तराईलगायतका मनोरम दृश्य समेटिएका पर्चा तथा पोस्टरले महोत्सवमा पुग्नेलाई विदेशी भूमिमा समेत नेपालको याद दिलाएको छ । जहाँ नेपाली मात्र होइन जापानी नागरिक पनि नेपाल बुझ्न लालायित छन् ।

फेष्टिबलमा नेपाली मौलिक खानाका परिकार पस्कने रेष्टुरेन्ट तथा नेपालीले सञ्चालन गरेका व्यवसायिक कम्पनीसहितका ४० भन्दा बढी स्टलहरू राखिएका छन् । अध्ययन र वैदेशिक रोजगारीका लागि आकर्षक गन्तब्य जापानमा करिब १ लाख नेपाली छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *