Main News

नेपालका राजा महाराजा चढ्ने सवारीसाधन कस्ता थिए ? (भिडियो रिपोर्टसहित)

२०७९ साउन १४ गते १६:०२
नेपालका राजा महाराजा चढ्ने सवारीसाधन कस्ता थिए ? (भिडियो रिपोर्टसहित)

१४ साउन २०७९ काठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा राजपरिवार सवार हुने गाडीहरु प्रदर्शनमा राखिएको छ । दरबार संग्रहालयमा यसअघि राजपरिवारले प्रयोग गर्ने अन्य सामग्रीहरु सर्वसाधारणले हेर्न मिल्ने गरी राखिएकोमा हाल राजा त्रिभुवनदेखि ज्ञानेन्द्र शाहसम्मले प्रयोग गरेका गाडीहरु प्रदर्शनमा राखिएको छ ।

यो हो राजा त्रिभुवन सवार हुने शाही गाडी । यो बेलायती फोर्ड कम्पनीले तयार पारेको पिक अप गाडी हो जुन राजा त्रिभुवनले विशेषतः उपत्यकाभित्र शिकार प्रयोजनका लागि प्रयोग गर्नुहुन्थ्यो ।

यो रातो गाडी चाहीँ राजा त्रिभुवनले परिवारसँग हिड्दा प्रयोग गर्ने गाडी हो । फोर्ड इन्टरनेशनल गाडी शाही परिवारका धेरै सदस्य कतै जानुपर्दा प्रयोग हुने गर्थ्यो ।

यो चाहीँ राजा महेन्द्रले प्रयोग गर्ने गरेको कालो रगंको र्फोड प्रिन्सेस गाडी । शाही गाडीको कुरा गरिरहँदा भिन्टेज कार र्फोड सँगैसँगै मर्सिडिजप्रति पनि राज परिवारको विशेष मोह देखिन्छ ।

श्रीपेच अंकित यो बुलेट प्रुफ गाडी चाहीँ राजा वीरेन्द्रले प्रयोग गर्ने गाडी हो । यो उत्कृष्ट गाडीको अर्को सेट जुन राजा वीरेन्द्र सवार हुने जस्तै बुलेट प्रुफ छ, यो चाहीँ विदेशी पाहुनाका लागि प्रयोग गरिन्थ्यो ।

यो हो सबैभन्दा खास तथा ऐतिहासिक मर्सिडिज गाडी जुन जर्मन शासक हिटलरले स्वर्गीय राजा त्रिभुवनलाई उपहार स्वरुप दिएका थिए । यो त्यसबखतको नामी सवारीमा गन्निथ्यो ।

दोस्रो जनआन्दोलनको उपलब्धि स्वरुप २०६५ सालमा राजा ज्ञानेन्द्रले गद्धी छोडेपछि यीसहित शाही परिवारका २८ गाडी दरबारमा छोडिएका थिए । दरबार संग्रहालय बनेको लामो समयपछि यी गाडीहरु प्रदर्शनमा राखिएको छ । प्रदर्शनमा राखिएका गाडीमा राजाले मात्र होइन युवराज, शाहज्यादा तथा राजपरिवारका अन्य सदस्यले चढ्ने गाडीहरु पनि राखिएको छ ।

कयौँ वर्षअगाडीका यी गाडीहरुमध्ये कतिपय राम्रो अवस्थामा देखिए पनि चल्ने अवस्थामा छैनन् । सबैजसोको इन्जिन बिग्रिसकेको छ ।

यहाँ हेर्नुहोस् त, यी गाडीको इन्जिन मात्र होइन आवरणसमेत बिग्रिसकेको छ । प्रदर्शनस्थलको छेउमै थुपारिएका यी गाडी पनि संरक्षण र प्रदर्शनको प्रतीक्षा गरिरहेका छन् ।

यी चाहीँ शाही परिवारले प्रयोग गर्ने हेलिकोप्टर र हवाइ जहाज । एनए ०३०१ नामक यो हेलिकप्टर र एनए ०२० नामक यो शाही हवाइ जहाज शाह परिवारको विशेष हवाई साधानका रुपमा परिचालन हुन्थे । लामो समय विमानस्थलमा थन्किएका हेलिकोप्टर र जहाजलाई पनि प्रदर्शनका लागि संग्रहालयमा ल्याइएको हो । तर यी साधनको अवस्था निकै जीर्ण देखिन्छ ।

कुनै समय नेपालको शाही परिवार आम नागरिकको श्रद्धाको केन्द्र थियो । प्रकारान्तरले राजतन्त्र अन्त्य भएपछि पनि यी सवारी साधनहरु भने आम नागरिकको चासोको केन्द्रमै छन् । संग्रहालयले निकै लामो समय लगाएर प्रदर्शनमा राखेका सवारी साधनको पनि संरक्षण निकै अल्छी गरेको देखिन्छ ।

अहिले सवारी साधनसमेत थपिएपछि दैनिक १५ सयभन्दा बढी सर्वसाधारण दरबार संग्रहालय अवलोकनमा आउने गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *