Main News

एसईई नतिजा: विद्यार्थी र अभिभावकलाई मानसिक तनाव (भिडियो रिपोर्टसहित)

२०७९ साउन १३ गते २०:४७
एसईई नतिजा: विद्यार्थी र अभिभावकलाई मानसिक तनाव (भिडियो रिपोर्टसहित)

१३ साउन २०७९ काठमाडौं । बुधबार एसईईको नतिजा सार्वजनिक भएसँगै विद्यार्थी र अभिभावकको महिनौंको पर्खाइ सकियो । विद्यार्थीको उच्च शिक्षा हासिल गर्ने बाटो पनि नतिजाले खुला गर्‍यो । विगत वर्षमा जस्तै यसपटकको एसईई नतिजाले खुसी मात्रै ल्याएन, विद्यार्थी र अभिभावकलाई मानसिक तनाव पनि दिएको छ ।

एसईई नतिजा सार्वजनिक भएसँगै अहिले सानोठिमी भक्तपुरमा रहेको राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० मा, विद्यार्थी र अभिभावकको भिड लागेको छ । यो भिडमा सुर्खेतका कमल उपाध्याय पनि आइपुग्नु भएको छ । कमल, एसईईको नतिजा आएसँगै खुसी हुनुपर्ने हो तर नतिजाले कमललाई थप तनाव दिएको छ ।

कमलले कक्षा ११ मा विज्ञान विषय पढ्नका लागि व्रिज कोर्सको समेत तयारी गरिरहनु भएको थियो । तर गणित विषयमा ई ग्रेड आएपछि आफ्नो सपना पूरा नहोला भन्ने चिन्ताले उहाँलाई सताएको छ । परीक्षा बोर्डमा परीक्षाको कपी पुन परीक्षणको निवेदन दिन पुगेका कमल शिक्षा प्रणालीमाथि नै प्रश्न गर्नुहुन्छ ।

यस्तै समस्या लिएर अछामका उत्सव खड्का पनि राष्ट्रिय परीक्षा बोर्ड आइपुग्नु भएको छ । आफूलाई मनपर्ने विषय ऐच्छिक गणितमा नै डि आएपछि उत्सवलाई रातको निद्रा न दिनको भोक भएको छ।

यसपटकको नतिजाले विद्यार्थीलाई मात्र होइन अभिभावकलाई पनि चिन्ता थपिदिएको छ । आफ्नो भतिजीको सोचेजस्तो नतिजा नआएपछि राष्ट्रिय परीक्षा बोर्ड पुग्नुभएकी कञ्चनपुरकी करुणा श्रेष्ठ पनि बोर्डको लापरबाहीले आफुहरुले दुख पाएको बताउनुहुन्छ ।

विद्यार्थी र अभिभावकले गुनासो गरेपनि राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० भने यो वर्ष यसअघिका वर्षको भन्दा न्यून त्रुटि भएको दाबी गर्छ ।

उहाँले केही झिना मसिना त्रुटि एक दुई दिनमै समाधान गर्ने आश्वासन दिन पनि चुक्नुभएन ।

राष्ट्रिय परीक्षा बोर्डले नतिजामा देखिएका त्रुटिलाई समान्य ठानेको छ । विद्यार्थी र अभिभावकले भने परीक्षा प्रणाली, कपी परीक्षणमा भएका लापर्वाहीका कारण अनावश्यक दुःख भोगिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *