आज बिहानैदेखि देशका अधिकांश क्षेत्रमा पानी पर्दै, दिनभर मौसम बदली रहने

१२ साउन २०७९ काठमाडौं । आज देशका अधिकांश भू–भागमा मौसम बदली भई पानी पर्ने सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपासमा रहेको छ भने पूर्वमा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको छ ।
महाशाखाका अनुसार आज बिहानैदेखि देशका विभिन्न स्थानमा सामान्यदेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाले आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने बताएको छ ।
देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । देशका केही स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले विभिन्न स्थानमा चट्याङसहित वर्षा हुने तथा विभिन्न भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम हुनुका साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रतिक्रिया