राजनीति

एमाले-समाजवादी गठजोडको सम्भावना यसरी हुँदै कमजोर (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ साउन १० गते २०:५४
एमाले-समाजवादी गठजोडको सम्भावना यसरी हुँदै कमजोर (भिडियो रिपोर्टसहित)

१० साउन २०७९ काठमाडौं । नेकपा एमाले र एकीकृत समाजवादी पार्टी बीचमा एकता हुने चर्चा चलिरहेको छ । दुई पार्टीका शीर्ष नेतृत्व केपी शर्मा ओली र माधवकुमार नेपालबीच एकताका लागि अनौपचारिक कुराकानी भैरहेको खबर पनि सार्वजनिक भएको थियो । तर अहिले पनि दुई नेताबीच आरोप–प्रत्यारोप, तिक्तता र अविश्वास कायमै रहेकाले प्रदेश र प्रतिनिधिसभा निर्वाचन अघि पार्टी एकता हुने सम्भावना कमजोर देखिन्छ ।

तत्कालीन नेकपाको विवादका कारण अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार विघटन त भयो नै नेकपा नै तीन टुक्रामा विभाजित भयो । नेकपा विभाजनपछि माओवादी केन्द्र र नेकपा एमाले व्यूतिँयो । एमाले पनि विभाजनबाट नेकपा एकीकृत समाजवादीको जन्म भयो ।

ओली सरकारको बहिर्गमन, पार्टी विभाजन यी सबैको मुख्य कारण नेकपाका शीर्ष नेताहरु ओलीका साथै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालबीचको व्यक्तिगत टकराव र अविश्वास नै थियो । अझ नेपाल र ओलीका बीचमा जुन खालको तिक्तता थियो, त्यो सानो प्रयासले सुल्झन सक्ने अवस्था थिएन् ।

आफू सरकारबाट हट्न पर्नु र नेकपा विभाजनको मुख्य कारण नेपाल र प्रचण्ड भएको ओलीको आरोप छ । त्यसको ठीक उल्टो प्रचण्ड र नेपालले यी सबैको कारक ओलीलाई ठान्नु भएको छ । पार्टी विभाजन भएको झण्डै एक वर्षपछि फेरि एकताको चर्चा भने शुरू भएको छ ।

पार्टी एकताको आवश्यकता तीनै नेताले गरेको र सामान्य कुराकानीसम्म भएको सम्बद्ध पार्टीका नेताहरु बताउँछन् । तर आफ्नो कमीकमजोरी स्वीकार्न दुवैतर्फका शीर्ष नेतृत्व तयार नभएकाले तत्काल पार्टी एकताको सम्भावना नभएको एकीकृत समाजवादीका नेताले बताएका छन् ।

एमाले नेता त झन एकीकृत समाजवादीसँगको एकता निकै टाढा रहेको बताउँछन । एकताका लागि पहिले हिजो ओली नेतृत्वको सरकार ढालेको, गैरकम्युनिष्ट दललाई सहयोग गरेकोमा आत्मलोचना हुनुपर्ने र कांग्रेस नेतृत्वमा रहेको गठबन्धनबाट अलग नभएसम्म एकताको विषय सोच्नै नसक्ने एमाले नेताको बुझाइ छ ।

वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनपछि पहिलो पार्टीबाट एमाले दोस्रोमा झर्‍यो भने एकीकृत समाजवादीले पनि सोचेजस्तो नतिजा निकाल्न सकेन । त्यसैले पार्टी एक भएर आगामी निर्वाचनबाट ठूलो शक्तिका रुपमा आफूलाई स्थापित गराउनुपर्ने भने दुबै पार्टीलाई लागेको देखिन्छ ।

तर अहिले पनि एक अर्कालाई दोषी करार गरेर नेताहरु पानीमाथिको ओभानो हुने कोशिस गरिरहेका छन । अनि एकले अर्कोलाई खुल्याउन लागि नै रहेका छन् । आत्मसमीक्षा गर्न तयार नहुने र अविश्वास कायमै रहेकाले आगामी प्रतिनिधिसभा निर्वाचनअघि नै एमाले र एकीकृत समाजवादीबीचमा एकता भइहाल्नेमा भने आशंका छ ।

अहिले पनि कम्युनिष्ट पार्टीलाई आफू निकै शक्तिशाली रहेको भ्रम छ । दलको शक्ति कति छ भन्ने मापन आगामी निर्वाचनबाट हुनेछ । दलहरुले को कति पानीमा रहेको पुष्टि भएपछि नयाँ कदम चाल्ने र त्यो कदम एकताका लागि हुन सक्ने विश्लेषकको बुझाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्