राजनीति

नागरिकता विधेयकमा ओलीको दोहोरो नीति, सत्तापक्षको हमला (भिडियो रिपोर्टसहित)

२०७९ साउन ९ गते २१:१९
नागरिकता विधेयकमा ओलीको दोहोरो नीति, सत्तापक्षको हमला (भिडियो रिपोर्टसहित)

९ साउन २०७९ काठमाडौं । एमसीसी र एसपीपीमा दोहोरो भूमिका देखाएको नेकपा एमालेले प्रतिनिधिसभाबाट पारित भएको नागरिकता विधेयकमा पनि उस्तै चरित्र देखाएको छ ।

आफू सरकारमा छँदा ल्याएकै प्रावधान समेटेको विधेयक पारित गर्ने बेला सदनमा मौन बसेको एमालेले अहिले राजनीतिक खपतका लागि विरोध गरिरहेको भन्दै सत्ता पक्षका नेताहरूले कटाक्ष गरेका छन् ।

नेपालका मुख्य कम्युनिष्ट घटकहरू नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरूले ठाउँ अनुकूल बोली र व्यवहार गर्ने गरेको कुरा कुनै नौलो होइन । यसपकटको नागरिकता विधेयक मात्र होइन, राष्ट्रिय सरोकारका अन्य विषयमा पनि यी दलहरू पानीमाथिको ओभानो बन्ने कोशिस गरिरहेका छन् ।

एमसीसी, एसपीपी लगायतका विषयमा दोहोरो नीति अवलम्बन गरेको एमालेले हालै प्रतिनिधि सभाबाट पारित नागरिकता विधेयकमा पनि कम्मल ओढेर घिउ खाने नीति अंगिकार गरेको भन्दै सत्ता पक्षका नेताहरूले आरोप लगाउन थालेका छन् ।

विगतमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ सालमा संसदमा पेस गरेको विधेयक तथा २०७७ मा ल्याएको अध्यादेश एउटै रहेको भन्दै एमालेमाथि दोहोरो चरित्र देखाएको आरोप लागिरहेकै छ । त्यसो त दोस्रो पटक संसद विघटन गरेपछि तत्कालीन प्रधानमन्त्री ओलीले २०७८ जेठ ९ मा अहिलेको जस्तै मिल्दोजुल्दो नागरिकतासम्बन्धी अध्यादेश ल्याउनुभएको थियो ।

तर, अहिलेको नागरिकता विधेयकमा एमालेका केही नेताहरूले विरोध गरिरहेका छन् भने नेतृत्वचाहिँ रमिता हेरेर बसिरहेको छ । नागरिकता विधेयकको चर्को विरोध गरिरहेका एमाले नेता तथा प्रतिनिधिसभा सदस्य भीम रावल भने कांग्रेसले एमालेमाथि आरोप लगाएर आफू पन्छिन खोजेको तर्क गर्नुहुन्छ ।

सत्तामा हुँदा एउटा कुरा र सत्ताबाहिर रहँदा अर्को कुरा गर्ने नेपालका दलहरूको नियमित कर्म हो । अहिले संसदले पास गरेको नागरिकता विधेयकमा वैवाहिक अंगिकृतका विषयमा राखिएको प्रावधानलाई लिएर विरोध भइरहेको छ ।

तर, तत्कालीन ओली सरकारले ल्याएको नागरिकता अध्यादेशमा वैवाहिक अंगीकृत सम्बन्धी व्यवस्थामा पनि समय सीमा तोकिएको थिएन । त्यसैले अहिलेको नागरिकता विधेयकमा एमालेले विरोध गर्नुको तुक नभएको विश्लेषकहरूको बुझाइ छ ।

शुक्रबार संसदले पास गरेको नागरिकता विधेयकमा प्रमुख प्रतिपक्षी एमालेले चर्को विरोध गरे पनि उसको मौसमी अडान हत्केलाले छोप्न खोजे पनि घामझैँ छर्लङ्ग छ ।

आफ्नो स्वार्थका लागि नौ महिनासम्म संसद अवरोध गरेको एमालेले चाहेको भए नागरिकता विधेयक रोक्न सक्थ्यो । तर, त्यही दिन संसदकै ठूलो दल एमालेका अध्यक्ष एवं संसदीय दलका नेता ओली अर्कै कार्यक्रममा व्यस्त हुनुभयो । त्यसैले नागरिकताजस्तो संवेदनशील विषयलाई चुनावी एजेण्डा मात्रै बनाउनु उदेक लाग्दो छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्